म भित्र दुःखका काँडाहरू थुप्रै छन् जसले घोचेर म पटक–पटक रोएकी छु : हिमानी शाह
भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् ।
एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट ओर्लिंदै थिइन् । उनको आँखा बोर्डसँगै ममा पर्यो । मैले नमस्कार गरेँ, उनले नमस्कार फर्काउँदै आफ्नो ‘सिग्नेचर’ मुस्कान मुस्कुराइन् । सहयोगीलाई मैले माथि आउन इशारा गरेँ । ‘रातोपाटी गेस्टरूममा स्वागत छ,’ म अलि औपचारिक हुँदै उनलाई सोफामा बस्न भनेँ । ‘धन्यवाद’, उनले रातोपाटी गेस्टरूम लेखिएको भित्तो हेर्दै भनिन् ।
केही अनौपचारिक कुराकानी भयो । केही उनले सोधिन्, केही मैले । उनी सहजै खुलिन् । पूर्वयुवराज्ञी भनेर दकस मान्नुपर्ने कुनै व्यवहार थिएन । त्यसो त, जनसाधारणसँग घुलमिल हुने हिमानीको स्वभाव यसअघि नै चर्चा भइसकेको विषय हो ।कफी आइपुग्यो । मैले रेकर्डर अन गरेँ । बिजु क्यामेराको लेन्स मिलाउन थालिन् । ‘ल, अब कफी पिउँदै अनौपचारिक ढंगले कुराकानी गरौं । म धेरै प्रश्न गर्दिनँ । थिम बुझिहाल्नुभयो, सरर बोल्नुहोला, केही छुटेझै लाग्यो भने बीचमा सोधुँला ।’, मैले भनें । ‘हुन्छ,’ उनको सिग्नेचर मुस्कान फैलियो ।
बिजुले एक स्न्याप लिन भ्याइहालिन् ।‘सबैलाई थाहै छ, नेपालको राजपरिवारसँग मेरो सम्बन्ध जोडिएबाट जीवनको कथा मोडिएको हो । ७ माघ ०५६ मा पारससँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुँ । हाम्रा दुई छोरी र एक छोरा छन् । राजपरिवारसँग जोडिनु जोकोहीको सौभाग्यमा हुँदैन । त्यो सौभाग्य मैले प्राप्त गरेँ । त्यसले सम्मान, इज्जतका साथै सम्पूर्ण भौतिक सुविधाको उपभोगको अधिकार पनि प्राप्त भयो । त्यसैले म आफूलाई भाग्यमानी ठान्छु ।’ यति भनेर उनी मुस्कुराइन् र कफीको एक ‘सिप’ लिइन् ।
एकैछिन कफीको कपलाई गौर गरेर हेरिन् र गम्भीर भएर भनिन्, ‘तर म आफूलाई सम्पूर्ण रूपमा खुशी छु भन्न सक्दिनँ । भाग्यमानी हुनु, भौतिक सुविधामा रहनुमात्रै खुशी नहुँदोरहेछ । अझ प्रश्न सोध्नुहोला, शाही परिवारका मान्छे पनि दुःखी हुन्छन् र ? तर आज पहिलोपटक मैले यसरी भनिरहेकी छु कि मभित्र पनि दुःखका काँडाहरू थुप्रै छन् । जसले घोचेर म पटक–पटक रोएकी छु, पटक–पटक चिच्याएकी छु । हृदयको रगत आँसु बनेर आँखाबाट बगेका छन् । जीवनको घुम्ती र मोडमा मैले धेरैपटक अचानक ब्रेक लगाएको छु । तर्सिएकी छु र पनि अगाडि बढिरहेकी छु ।’ उनको अभिव्यक्ति अमूर्त तर भावनात्मक थियो । अनुहारमा सघन गम्भीरता फैलिएको थियो । त्यसैबेला बिजुले चलाएको क्यामेराको फ्ल्यास चम्कियो । उनले हच्केझैं भनिन्, ‘अहिले राजतन्त्र नभए पनि हामी एउटा विरासतबाट आएका छौं । त्यसैले मुटुभित्र जे भए पनि घरको संघार नाघेर बाहिर निस्किएपछि अनुहारमा चमक देखाउनुपर्छ । यस्तै क्यामेराका ‘फ्लास’मा हाँसो दिनुपर्छ । म यसबाट भाग्न सक्दिनँ ।’, उनको कुरा सुनेर बिजु अलि हच्किन् । तर फेरि उनले आफ्नो सिग्नेचर मुस्कान बिजुतिर फैलाइन् । बिजुले सहज महसुस गरिन्झैं लाग्यो । फेरि क्यामेराको ‘फोकल प्वाइन्ट’ मिलाउनतिर लागिन् ।
उनले हल्का सुस्केरा हालिन् । र, निरन्तरता दिइन्, ‘हिजोमात्रै बेलायती राजकुमार आफ्नो देश फर्किए । उनको खुब चर्चा भयो । उनले भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरे । आफ्ना नेपाल भ्रमण अवधि लम्ब्याएर अझ नेपालीको मन जिते । तर आफ्नै देशको पूर्वराजकुमारको कसैले सोधी खोजी गरेन । पछि थाहा पाएँ, तपाईंहरूले कुरा गर्न खोज्नुभएको रहेछ । तर उहाँले मान्नुभएनछ । मैले पनि बेलायती राजकुमारको भ्रमण अवधिभर उहाँकैबारे बढी सोचेँ । पछिल्लो समय म समाजसेवामा सक्रिय छु । उहाँ पनि मैले यसो गरेको हेर्न चाहनुहुन्थ्यो । तर उहाँलाई पनि म ह्यारीजस्तै देशको कुना–कुना पुगेको, जनतासँग हाँसखेल गरेको र सुखदुःखमा सहभागी भएको हेर्न चाहन्थेँ । सबैलाई थाहा छ, मैले दार्जुलाको बाढी पहिरोमा होस् कि भूकम्पको बेलामा, कुनै न कुनै रूपले जनतालाई सहयोग गरेँ । त्यहाँ म मेरा प्रिय पति पारसलाई साथै देख्न चाहन्थेँ ।’
उनले सुस्केरा हालिन् । कुराकानी भावुकता बढी थियो, त्यसले मलाई र बिजु दुवैलाई भावुक बनाइरहेको थियो । उनी पनि आँसु रोकेर बोलिरहेकी छिन् भन्ने स्पष्ट थाहा हुन्थ्यो । ‘मैले उहाँलाई सुधार्न धेरै प्रयास गरेँ ।’ उनले भन्न थालिन्, ‘तर मेरो हरेक प्रयत्न असफलजस्तै भए । हरेक दिन पतिको दीर्घायुको कामना गर्दैै आप्mनै घरको प्रांगणमा रहेको मन्दिरमा दैनिक पूजाआजा गर्थेँ । अहिले पनि गर्छु । तर, उहाँलाई मेरो यो कामनाप्रति मतलब भएको पाइनँ ।उहाँको आफ्नै ताल हुन्थ्यो । मस्ती गर्ने र आफ्नै खालको जीवन जिउँने उहाँको शैलीले हामीबीच एक किसिमको दुरी बन्न गयो । तर पनि मेरो प्रयत्न जारी थियो । त्यस्तो बेला भारतीय मिडियामा आउने समाचारले उत्तिकै तनाव दिन्थे । कसैले उहाँलाई पारसलाई नक्कली भारतीय रुपैयाँको कारोबारी भन्थे त कसैले लागूऔधष कारोबारी । मलाई ती समाचार भयानक लाग्थे, उहाँको अनुहार हेर्थें, उहाँले पनि असुरक्षित महसुस गरेको पाउँथेँ । त्यस्तै सन्दर्भमा मैले दुई बर्ष अगाडि एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिएकी थिएँ– ‘अरू हिन्दु नारीझैँ मलाई पनि पतिको विषयमा विवादास्पद समाचार आउँदा दुःख लाग्छ ।’
भनेर । वास्तवमै उहाँको विवादास्पद छवि र गतिविधिले मलाई असाध्यै धेरै दुःखी बनाएको थियो । दरबारमा भएको दुर्घटनाको प्रसंग चल्दा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उहाँको नाम जोडिरहेका हुन्थे । यसले मलाई मात्रै होइन, परिवारलाई नै मनोवैज्ञानिक तनाव दिन्थ्यो ।’ पारसबारे थाहा भइरहेकै कुरा भए उनकै पत्नीबाट सुन्दा नयाँ कुरा सुनेझैं उत्सुकता थियो ममा । बिजु पनि उत्तिकै ध्यान दिएर सुनिरहेकी थिइन् ।‘१३ वर्षअघि लापरबाहीपूर्वक गाडी चलाएर गायक प्रवीण गुरुङको हत्या गरेको आरोप पनि लाग्यो उहाँमाथि । ०६७ पुसमा चितवनको टाइगर टप्स रेस्टुरेन्टमा कांग्रेस नेतृ सुजाता कोइरालाकी ज्वार्इं रुबेल चौधरीलाई लक्षित गरेर फायरिङ गरेको घटनामा उहाँमाथि मुद्दा नै चलेको थियो । यो घटनाले पूर्वराजपरिवार नै विवादमा तानियो । उहाँले दलाई लामाका प्रतिनिधि थिन्ले गोल्छेसँग गोप्य भेटघाट गरेको भन्ने अपुष्ट समाचार पनि आयो । मिडियाले उहाँको नाम दाउद इब्राहिमसँग पनि जोडे । ज्वाईं राजबहादुर सिंहको गतिविधिमा पनि उहाँ चित्त बुझाउनुहुन्नथ्यो, त्यसैले राजबहादुर जेठान पारससँग सोझै भेट्न डराउनुहुन्थ्यो ।
तत्कालीन युवराजधिराजलाई अपहरण गर्ने, रोल्पा पु¥याउने र दरबार हत्याकान्डबारे बयान लिने योजना बनेको भनेर पनि समाचार आयो । यस्ता कुरामा कतिको सत्यता थियो, त्यो त म जान्दिनँ । मलाई लागेको थियो, यी सबै हल्ला, चर्चा र घटना मदिरा र लागूऔधष सेवन गर्ने बानी कारण यस्तो भइरहेको हो । जसले मलाई असाध्यै चिन्तित बनाएको थियो ।’ उनले पतिका कारण आफूले भोग्नुपरेको दुःखको फेहरिस्त खोल्दै गइन्, ‘मदिरा पिउने विषयमा हामीबीच बेला–बेला खटपट भइरन्थ्यो । बिहेपछि उहाँको विभिन्न युवतीसँग नाम जोडिन्थ्यो । यो विषयले पनि हाम्रो खट्पट गराउँथ्यो ।हामी कुनै समय निर्मलनिवासमै पनि अलग–अलग कोठामा बस्यौँ । एक पटक उहाँले मलाई होटलमै तनाव दिनुभयो । उहाँ मदिरा पिएर होटल एभरेष्टको ग्यालेक्सी डिस्कोमा बसेको थाहा पाएँ । उहाँलाई सम्हाल्न गएकी थिएँ, तर उल्टो रिसाएर बन्दुक नै चलाउनुभयो । यो घटना मिडियामै सार्वजनिक भयो । मैले उहाँको मदिरा लत छुटाउन सक्दो प्रयत्न गरेँ । एकपटक त काभ्रेको पलान्चोक भगवती मन्दिरमा लगेर अबदेखि मदिरा पिउँदिनँ भनेर कसम खान लगाएँ । केही समय त छाड्नुभयो ।
तर, केही समयपछि फेरि सुरु गर्नुभयो । संगतले होला भनेर मैले संगत छुटाउने पनि प्रयत्न गरेँ । देशमा गणतन्त्र घोषणा भएपछि त्यसमा म सफल पनि भएकी थिएँ । उहाँले कपालको चुल्ठो काट्नुभएको थियो । मेरो र परिवारको आग्रह मानेर पुराना साथीको सर्कलबाट बाहिर निस्कनु भएको थियो ।’ उनी पुराना स्मृतिमा डुबिरहेकी थिइन् । म चुपचाप उनको कुरा सुनिरहेको थिएँ ।उनले भनिन्, ‘तपाईंले सोचेजस्तो भन्न सकिरहेकी छु कि छैन ?’ मैले भनें, ‘ठीक छ । भन्दै जानुस् न ।’उनले निरन्तरता दिइन्, ‘०६४ सालको भदौ २० मा उहाँलाई हृदयाघात भयो । नर्भिक अस्पतालमा डा. भरतराज राउतको नेतृत्वमा डा. श्याम पाण्डे, डा. केएन मल्ल, डा. यादव भट्ट र डा. शेखर राजभण्डारीको टोलीले उहाँको उपचार गर्यो । ६ दिनमै डिस्चार्ज भए पनि डाक्टरले उहाँलाई जिन्दगीभरि औषधि खान भनेका थिए । तर उहाँले हेलचेक्रार्इं गर्नुभयो । उल्टो, लागूऔषध सेवन गर्नु थाल्नुभयो । त्यसैबेला थाइल्याण्डमा उहाँको कर्निका लिनसँग प्रेमसम्बन्ध बिग्रेको खबर मिडियामा आयो । पतिको यस्तो हालत हुनु र यस्तो समाचार सुन्नुले कुन नारीको मन नआत्तेला, नरोला ?’
उनी भावुक भएर एकैछिन रोकिइन् । सेलाइसकेको कफी पिउँदै उनले भन्न थालिन्, ‘०६८ साल भदौ ११ गते उहाँ बैंकक जानुभयो । त्यसपछि मैलै एक्लै समय बिताउनुपर्यो । त्यसबेलासम्म भएका अनेक खट्पट्ले हाम्रो सम्बन्ध उसै त चिसिएको थियो, उता गइसकेपछि त संवादसमेत हुन छाडेको थियो । त्यसै बर्षको फागुनको पहिलो साता उहाँ निकै बिरामी पर्नुभयो । म झन् चिन्तित भएँ । हामीबीच ६ महिनादेखि फोनमा समेत संवाद हुन सकेको थिएन ।उहाँ बंैककमा थाई गर्लफ्रेन्डसँग बस्दै आएको सुनेकी थिएँ । यता मेरो मन पोलिरहेको थियो, उहाँलाई भने मेरो दिनचर्या र चाहनाबारे कुनै चासो थिएन । तर म उहाँको साथ नहुँदा छट्पटाइरहेको थिएँ । हृदयाघात भएपछि ८ फागुनमा बैंककको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना हुनुभयो । उहाँ बिरामी भएपछि पूर्वराजपरिवारमा बेचैनी फैलियो । सम्बन्ध बिग्रिएकै भए पनि पति बिरामी भएको भन्दा मलाई चिन्ता नहुने कुरै भएन । बैंककमा उहाँ अस्पताल भर्ना भएकै साँझ छोरी कृतिका पनि गम्भीर बिरामी परिन् । नर्भिक अस्पतालमा उनको पेटको एपेन्डिसाइटिसको अप्रेसन गरियो । त्यसैले म दुई दिन ढिलो बैंकक पुगेँ ।
अस्पताल भर्ना भएको तेस्रो दिन ११ फाुगनमा म सहयोगी स्मिता सिंहलाई लिएर थाई एयरलाइन्सको नियमित उडानबाट बैंकक गएँ । उहाँ बिरामी पर्दा बुबा र मुमा सिमरामा हुनुहुन्थ्यो । त्यहीँ राम मन्दिर गएर छोराको सुस्वास्थ्यको कामना गर्दै पूजापाठ गर्नुभयो । पछि उहाँहरू पनि बैंकक जानभयो । हाम्रा छोरा हृदयन्द्र, छोरी पूर्णिका र कृतिका पनि सँगै गए । मसँगचाहिँ उहाँकी बहिनी प्रेरणा, दिलासा, पूजा, सिताष्मालगायत नातेदार वानुभएको थियो । अस्पतालमा भर्ना भएको बाह्रौँ दिनमा उहाँको होश खुल्यो । मेरो मनमा बल्ल अलिकति राहत भयो । १५ चैतमा उहाँ डिस्चार्ज हुनुभयो । त्यसपछि केही समय पुनस्र्थापना केन्द्रमा बस्नुभयो । अब त उहाँ ठीक हुनुहुन्छ कि भन्ने मलाई ठूलो आश जागेको थियो ।’ निकैबेर बोलेकोले उनी थाकेजस्तो देखिइन् । तर उनको कुरा सकिएको थिएन ।त्यसैले मैले उनीबाट निरन्तरताको अपेक्षा गरेँ । उनी भन्न थालिन्, ‘पछि उहाँ थाइल्यान्डमा गाँजासहित पक्राउ परेको र लागूऔषध मुद्दामा थाई प्रहरीले एक दिन थुनामा राखेर १० हजार भाट धरौटीमा रिहा गरेको समाचार बाहिर आयो । । यसले मलाई निकै निराश बनायो । त्यसबेला उहाँलाई भेट्न गइनँ । बाबुआमा र मसँग सम्बन्ध बिग्रिएकाले उहाँ त्यो बर्ष दसैं–तिहारमा पनि नेपाल आउनुभएन । धीरेन्द्रका तीन छोरी पूजा, सिताष्मा र दिलासाले उहाँलाई फोन गर्थे र सान्त्वना दिन्थे । उनीहरूमार्फत हामीले जानकारी लिन्थ्यौँ । आफैँ फोन गर्न भने सकेकी थिइनँ । खासमा, थाइल्यान्डमा सामुद्रिक वस्तुको व्यवसाय सुरु गर्ने उहाँको योजना थियो । तर गाँजा प्रकरणमा तानिएपछि योजना असफल भयो ।
उहाँ तारेख धाउँदा–धाउँदै निकै दुब्लाउनुभयो । ९० केजीको मान्छे ६० केजीमा झर्नुभयो । मलाई पनि यता दिनपरदिन चिन्ताले सताइरहेको थियो । तर निर्मलनिवासमै बुबामुमासँग बसेकाले उहाँहरुले चिन्ता नलिन आग्रह गरिरहनुहुन्थ्यो । तैपनि नलिउँ भनेर चिन्ता नलिइने होइन रहेछ । मैले जीवनको लामो समय चिन्तामा नै गुजारेँ ।’ वास्तवमा उनका अनुहारबाट चिन्ताको रेखा हटिसकेको थिएन । त्यति भनिसकेर उनले लामो सास तानिन् ।र, भनिन्, ‘यसरी भन्दै जाने हो भने त कहिल्यै सकिँदैन । समय पनि निकै भइसकेछ । अब टुंग्याउँछु है ।’ मैले ‘हुन्छ’को संकेतमा टाउको हल्लाएँ । बिजु पनि सक्रिय भइन्, सायद केही ‘लास्ट स्न्याप्स्’ लिनुथियो उनलाई । हिमानी भन्न थालिन्, ‘मैले आफूलाई समाजसेवामा सक्रिय गराएको छु । यसले दिने आनन्दले चिन्ता कम गर्न सहयोग पुर्याएको छ । मैले समाजसेवाका लागि हिमानी ट्रस्ट बनाउँदा उहाँ काठमाडौंमै हुनुहुन्थ्यो । ट्रस्टको कार्यालय पुल्चोकमा थियो, उहाँ पनि सोमवार, बुधवार र बिहीवार जानुहुन्थ्यो । वास्तवमा उहाँकै सल्लाहमा मैले यो खोलेकी थिएँ । पछि यसको कार्यालय बालुवाटार सारियो । काठमाडौंमा पनि साइकल वितरण गर्नेदेखि वृद्धाश्रममा गएर वृद्धवृद्धालाई खाद्यान्न र लत्ताकपडा वितरणलगायतका काम गरेँ ।
त्यसपछि म ट्रस्टका कार्यक्रम लिएर दोलखाको गाउँ–गाउँ पुगेँ । दोलखाको एउटा कार्यक्रममा त उहाँ पनि जानुभएको थियो । उहाँ बंैकक बस्न थालेपछि भने उहाँलेको चासो दिन थाल्नुभएको थियो । तर म समाजसेवामा रमाइरहेँ । पछिल्लो समय भूकम्पपीडितलाई राहत दिन सक्रिय भएँ । यसले मलाई खुशी दिएको छ र दुःख घटाउन सहयोग गरेको छ ।’यसो भन्दा उनको अनुहारमा उज्यालो फैलियो । झण्डै उनको सिग्नेचर मुस्कान फर्किएको थियो । उनी बोल्न थालिन्, ‘झन्डै पाँच बर्षपछि ०७१ को चैत १९ गते काठमाडौं फर्कनुभएको थियो । उहाँ नेपाल आएपछि पनि निर्मल निवास वाहिरै बस्नुभयो । भूकम्पपछि पनि हामीबीच भेट भएन । पछिल्लो पटक साउन १० गते उहाँ फेरि बिरामी हुनुभयो र अहिले उपचारमा हुनुहुन्छ । पति बिरामी भएपछि मनले थामेन । दुःखमा पानी बाराबार गर्ने हाम्रो संस्कार होइन । म तुरुन्तै अस्पताल गएँ । उपचारबारे सबै जानकारी लिएँ ।
उहाँको मुटुको गतिमा केही अनियमितता देखिएपछि उक्त गतिलाई नियमित गर्न वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भारत रावत र डा. सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर सफलतापूर्वक जडान गरेको छ । आठ वर्षअघि पहिलोपटक हृदयाघात हुँदा नर्भिकमै आकस्मिक कोरोनरी एन्जियोप्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो । अहिले पनि उहाँ उपचारसहित आराम गरिरहनुभएको छ । चाँडै सम्पूर्ण रूपले निको हुने आशा छ । अहिले बेलायती राजकुमारको नेपाल भ्रमाणले मलाई उहाँको सक्रियताको र साथको खुप रहर जागेको छ । जतिसुकै उतार–चढावपूर्ण भए पनि हाम्रो जीवन सुखी हुनेमा म आशावादी छु । र, हामी भगवानसँग यही प्रार्थना गरिरहेका छौँ ।’यति भनेर उनी मुस्कुराइन् । बिजुलाई हेरिन् । बिजुले अन्तिम ‘स्न्याप’ लिइन् । उनले लामो सास फेर्दै भनिन्, ‘यत्ति नै गरौं है ? कस्तो भयो ?’‘भावुक बनाउनुभयो ।’, मैले संक्षिप्तमा भनेँ । उनी फेरि मुस्कुराइन् । ‘ल, अब निस्कन्छु । प्रकाशित भएपछि खबर गर्नुहोला ।’मैले उनलाई धन्यवादसहित विदा गरेँ । बिजु लामो सास फेर्दै मलाई हेरेर मुस्कुराइन् र भनिन्, ‘कफी सेलाइसक्यो, किन नखानुभएको ?’ म पनि हासेँ ।‘कफी सेलाइसक्यो बाबा ।’ गेस्टरूमको ढोकाबाट निस्कँदै थिएँ, छोरीको आवाज पो सुनेँ । ‘हँ’ म त सपनाको देखिरहेको रहेछु । छोरी मेरो हात तानेर ब्यूँझाउन खोज्दै थिइन् । ‘स्टडी टेबल’मा कफी बफाइरहेको थियो ।‘उफ्, सपना पनि अन्तरवार्ता लिएकै देख्न थालिएछ’, आङ तन्काएर उठ्दै सोचेँ । बाबालाई उठाउन सफल भएँ भन्ने खुशीले छोरी मुस्कुराई र दौडिँदै आमाको छेउ पुगेर भनी, ‘बाबा, उठ्नुभयो ।’ उठेर मुख पनि नधोइ कफी खाँदै सपना पुनस्मरण गरेँ । र सोचें, ‘यही सपना उतार्ने हो भने समाचार सम्पादकले के भन्लान् ?’
बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी नेपाल आउने दिन नजिकिएपछि उनको ‘मिडिया कभरेज’ बढेको थियो । हरेक समाचारको फरक ‘एंगल’ खोजिरहने समाचार सम्पादक नेत्र पन्थीे सोचमग्न थिए । उनी ह्यारी भ्रमणको बेला ‘सरप्राइज एंगल’ दिन चाहन्थे । पूर्वयुवराज पारसको अन्तर्वार्ता ! उनको सिर्जनात्मक मस्तिष्कमा ह्वात्त आएको विचार उनले आफ्नो स्वाभावअनुसार शालीनतापूर्वक भनेका थिए, ‘विदेशी राजकुमार आउँदा, यहाँको पूर्वयुवराजको कुरा थाहा पाउनुपर्यो नि जनताले ।’कुरा अच्छा थियो । अच्छा कुरोलाई सच्चा काममा बदल्न पारसलाई स्रोतमार्फत ‘फलो’ गर्न थालियो । तर ह्यारी नेपाल आइपुग्दासम्म पारससँग संवाद गर्न सकिने सम्भावना नरहेको खबर स्रोतले दियो । खबरले ‘फरक एंगल’को उत्साहमा पानी खन्याइदियो । पानीले चिसिएको चिसो मस्तिष्क बोकेर कार्यालयबाहिरको चिया पसलमा चिया खान निस्किँदासम्म ह्यारी आइपुगेको तस्विर ‘हिट’ भइसकेको थियो ।ह्यारीको चर्चा चलिरह्यो । भूतपूर्व गोर्खासँग भेटेकोदेखि भूकम्पबाट पुनर्निर्माणमा ढुंगा बोकेकोसम्म तस्विर छापिए, प्रशारण भए । गोरखाको लापुवेसीका स्थानीयले त उनको सम्मानमा डाँडाको नाम नै ‘ह्यारी हिल’ राखे । उनले नाचेको खबर ‘हिट’ भयो । उनलाई नेपालमै जन्मिनुपर्ने मान्छे भनेर प्रशंसा गरिएका पत्रहरू अनलाइनमा देखिए । पारस र उनको तुलना गरिएका तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भए । छ दिन नेपाल भ्रमण लम्ब्याएपछि त उनको चर्चा झनै चुलिएको थियो ।
ह्यारीको थप भ्रमणदिन पनि सकिएको थियो र बेलुका उनी फर्कदै थिए । हामी भने अपरान्ह चिया पसलमा निस्केका थियौं । फेरि प्रसंग चलिहाल्यो– पारसको अन्तर्वार्ता हाल्न पाइएन है । कसैले प्रसंग उप्कायो । ‘साँच्ची हिमानीचाहिँ के सोचिरहेकी होलिन् यतिबेला ?’ अर्को साथीले थपे । ‘विदेशी राजकुमारले यत्रो चकचकी गरेर चर्चा कमाउँदा आफ्नो ‘राजकुमार’बारे के भन्लिन् ?’ जिज्ञासा थपियो ।‘अँ त, यो एंगल पनि गज्जब हुन्थ्यो । तर अब त ढिला भइहाल्यो ।’ समाचार सम्पादकले भने । चिया पसलबाट फर्किएपछिको अल्छीलाग्दो समयमा मैले गूगलमा ‘हिमानी’ सर्च गरेँ । ‘इन्टरनेट अर्काइभ’ले चित्त नबुझेर रातोपाटीकै ‘न्यूज रुम अर्काइभ’ पनि खोतलेँ । उनीबारे उपलब्ध सामग्री पढ्दै जाँदा झण्डै तीन घन्टा बितेछ । त्यही ‘ह्याङ्ओभर’ले सपनामा राज गरेको थियो ।मैले ल्यापटप खोलेँ र सपना टाइप गर्न थालेँ । सकिएपछि अर्को सोच मनमा आयो, ‘साँच्चै, हिमानीचाहिँ के सोचिरहेकी होलिन् यतिबेला ?’ त्यसको लागि साँच्चै अन्तरवार्ताको चाँजो मिलाउनुको विकल्प थिएन ।
प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार