द्वन्द्वकालमा बेपत्ता भएका ‘काले’ १७ वर्षपछि घर पुगे


 


बझाङ – द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४/५ वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यतिबेलाको केही कुरा पनि राम्रोसँग सम्झना छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दाेलनमा लगेका थिए ।

त्यो २०६०/६१ सालको कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारी सँगै उनलाई पनि आफ्नै फौँजमा लगे । कति यातना दिए, कति गाली खानुपर्यो त्यो क्षण सम्झिँदा पनि अहिले उनका आँखा रसाउँछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सेसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् ।

तत्कालिन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन ।

दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) ४/५ वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् । उनी माओवादीको समूहबाट भागे तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

‘धेरैसँग हार गुहार समेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पुर्याइदिन चाहेनन्, उल्टै आफूहरुले पाल्ने र आफैसँग बस भनेर भन्थे ,’ उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइनँ, एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।’

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्