उर्लाबारीको नगरसभामा कसले के भन्यो ? अधिंकाश नगरसभा सदस्य किन भए रुष्ट ?


 


उर्लाबारी । उर्लाबारीको तेस्रो नगरसभाको बैठकमा आज सम्पन्न भएको छ । बैठकमा उर्लाबारीका कान्छा जनप्रतिनिधि रविन लामाले धेरैको ध्यान खिच्न सफल भए । सबै वडाका समस्याहरुले उनले राखे ।

समसामयिक विषयलाई लिएर आफ्नो ध्यानाकर्षण भएको बताउदै वडा नम्बर ५ का वडा सदस्य समेत रहेका जनप्रतिनिधि लामाले नगर क्षेत्रमा भइरहेको विभिन्न कार्यहरुप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको बताए ।

उनले उर्लाबारी वडा नम्बर १मा सञ्चालित क्रसर मापदण्डमा रहेको वा नरहेको विषय नगरपालिकाले छानबिन गर्नुपर्ने बताए । उनले नियम विपरीत क्रसर सञ्चालन गरिएको पाइए कारबाही हुनुपर्ने माग राखेका थिए । जनप्रतिनिधिहरु भन्दा अगाडि क्रसर दर्ता भए विधेयक निर्माण गरेर भएपनि क्रसरलाई नियमनमा ल्याउनुपर्ने जोड माग राखेका थिए ।

यस्तै टिफरले वडा नम्बर ५को राम्री खोलाको कल्भर्ट जीर्ण अवस्था बनाइदिएको बताउदै क्षति रोक्नुपर्ने माग राख्दै उचित व्यवस्थापनको माग राखे । क्रसर सम्बन्धिको कुनै पनि जवाफ नआएपछि अन्य नगरसभा सदस्यहरु रुष्ट भएका थिए ।

बैठकमा नगरसभा सदस्य लामाले ८२ फिट क्लियर संरचना गर्दा पदाधिकारीहरुले विभेद गरेको प्रसंग औल्याए । उनले उर्लाबारीको अरनिको अस्पताल र नया मंगलबारेमा रहेको एनसेल टावरको जेनेरेटर ८२ फिटमा पर्दा समेत नहटाइएकोप्रति ८२ फिट क्लियर अभियानका सदस्यहरुलाई नगरसभा बैठकमा प्रश्न गरे । उनले जेनेरेटर तत्कालन हटाउन माग राखे । भने,‘ कसैलाई काखा र पाखा लगाइयो यसमा मेरो असहमति छ । ’ मेयर खड्ग फागो (सभाध्यक्ष) ले जवाफ दिने क्रममा कसैलाई काखा र पाखा नगरिएको र ८२ फिटभित्र परेका संरचनाहरु सबै भत्काइएको बताएका थिए ।

८२ फिट क्लियर अभियानका संयोजक वीरबल थापाले ८२ फिट रहेको जेनेरेटर हटाउन निर्देशन दिएको र प्रक्रियागत रुपमा कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । उर्लाबारी नगरपालिकामा जथाभावी रुपमा च्याउ सरी इन्स्टिच्युट तथा विद्यालयहरुले शिक्षाको नाममा व्यापार गरिरहेको भन्दै सबैको ध्यानाकर्षण गराए । बैठकमा खरो रुपमा उत्रिएका जनप्रतिनिधि लामाले उर्लाबारीका विद्यालयहरुलाई वर्गीकरणको माग राखे । यस्तै,उनले निजी विद्यालयहरुले मनपरी शुल्क लिएको भन्दै नगरपालिकाले शुल्क निर्धारण गरिदिनुपर्ने बताए ।

यस्तै उनले वडा नम्बर ६मा निमार्णधिन उर्लाबारीको बसपार्क सम्बन्धिको सम्पूर्ण विवरण यथाशिघ्र सार्वजनिक गर्न माग राखे । मेयर फागोले जवाफ दिने क्रममा बसपार्क निर्माण योजना नगरपालिकाको नभएर भौतिक निर्माण कार्यालय विराटनगरले गरेको बताए ।

उनले साविक राजघाट गाविस हाल उर्लाबारी वडा नम्बर ८ र ९ मा खानेपानी उपभोक्ता समिति रहेको र उक्त समितिको छानिबिन गरिनुपर्ने माग राखे । हाल राजघाटमा खानेपानीको समस्या भएकाले खानेपानी सम्बन्धिका योजनाहरु नभएको बताए ।

उर्लाबारीको नगरपालिकाको प्रतिनिधित्व गरेर खेल खेल्न जादा खेलाडीको खुट्टा भाचिदा नगरपालिकाले चासो नदेखाएप्रति दुखसो गरे । यस्तै,वडा नम्बर ६का वडा सदस्य सचिन शाक्यले उर्लाबारीलाई प्रतिनिधित्व गरेर जाने खेलाडीहरुलाई नगरपालिकाले प्रोत्साहन नगरेको बताए । नगरपालिकाको सहकारी सम्बन्धिका विधेयकमा पारित गर्ने क्रममा अध्ययन गर्न नपाएको भन्दै नगरसभा सदस्यहरुले गुनासो गरेका थिए । विधेयकमा धेरै नगरसभा सदस्यहरुले हस्ताक्षर नगरेको एक नगरसभा सदस्यले बताए ।

यस्तै आजको नगरसभामा नेकपा समर्थित कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूले विधेयकमा हस्ताक्षर गरेनन् । विधेयक तथा ऐन अध्ययन गर्ने समय नपाएको भन्दै हस्ताक्षर नगरी आपत्ति जनाईएको नगरसभा सदस्य निरोज तिम्सिनाले बताए । आफुहरुले उभिएर पटक – पटक फरक मत राख्दा पनि सुनवाई नभएको नगरसभा सदस्य तिम्सिनाले बताएका छन् । साभार : मंगलबारे पेजबाट 

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्