पुरा हुँदै चुनावी प्रतिबद्धता, टाँडी जाने मिक्लु खोलामा बन्ने पुलको शिलान्यास


 


उर्लाबारी, १३ बैशाख ।

मोरङको उर्लाबारी उर्लाबारी नगरपालिका – १ र मिक्लाजुङ गाउँपालिका – ६ जोड्ने मिक्लु खोलामा निर्माण हुने बक्स पुल निर्माणको आज बिहान शिलान्यास गरिएको छ ।

१ नं. प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक कार्यक्रमकाबीच पुल निर्माणको शिलान्यास गर्नुभएको हो । पुल निर्माण अन्र्तगत प्रदेश सरकारले सुरु गरेको योजना यो नै पहिलो भएको भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव मनोज घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री आङ्बोले विकाश निर्माणमा तीन वटै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । ठुला योजना संघीय सरकारले, मझौला योजनाहरु प्रदेश सरकारले र साना योजनाहरु स्थानीय सरकारले निर्माण गर्ने बताउनुहुँदै मन्त्री आङ्बोले अबको केही वर्षमा भौतिक निर्माण क्षेत्रमा ठुलो प्रगति हासिल हुने बताउनुभयो ।

विकाश निर्माणमा राजनीति गर्न नहुने भन्दै उहाँले तोकिएकै समयमा पुल निर्माण सम्पन्न गर्न स्थानीयबासीको भूमिका झनै महत्वपुर्ण हुने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सांसद् कुलप्रसाद साम्बा र उपेन्द्र घिमिरेले निर्वाचनमा जनतासामु गरेका चुनावी प्रतिबद्धताहरु बिस्तारै पुरा हुँदै गएको बताउनुभयो । सांसद् साम्बाले आफुले निर्वाचनमा जनतासामु गरेका बाचाहरु आफ्नो कार्यकाल अवधिभर पुरा गरेरै छाड्ने उद्घोष गर्नुभयो । मिक्लु खोलामा पुल निर्माण सुरु भएको र अब यही बैशाख महिनाभित्रै टाँडी – रमितेसम्म पुग्ने सडकमा कालोपत्र निर्माणको ठेक्का सम्झौता हुने बताउनुभयो । प्रदेश सांसद् साम्बाको विशेष पहलमा प्रदेश सरकारको बजेटमा सो ठाउँमा पुल निर्माण हुने भएको हो ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, बिभिन्न राजनीतिक दलका नेता एवम् प्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो । ८६.६० मिटर लम्बाईको सो पुलको महाविर – किँरातेश्वर जे.भि. सुकेधारा काठमाण्डौले सात करोड २५ लाख ४९ हजार ७६० रुपैयामा ठेक्का लिएको हो । पुल आगामी २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । यसअघि स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा उठ्ने उम्मृद्वारले सो खेलामा पुल बनाईछाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्