दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण


 


झापा । झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण लागेको पाइएको छ । दमकस्थित दमक अस्पतालमा २ दिन गरिएको बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको पहिचान भएको हो ।

बैशाख ६ र ७ गते सञ्चालित भिटामिन ’ए’ खुवाउने क्रममा सबै स्वयम्सेवीकाहरूलाई कुपोषणको लक्षण देखिएका बालबालिकालाई परीक्षणमा ल्याउन आग्रह गरिएको थियो । सो क्रममा शंका लागिएका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूको पहिचान भएको नगरपालिका स्वास्थ्य संयोजक ईन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

घरघरमा पुगेका महिला स्वास्थ्य स्वयम्सेवीकाहरुले १ सय १६ जना बालबालिकाले परीक्षणका लागि आउन आग्रह गरेका थिए । ती बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा १३ जनामा कडा र १४ जनामा मध्यम प्रकारको कुपोषण पाइएको अर्यालले बताउनुभयो । कुपोषण पहिचान भएकाहरूलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छ।

पोषणयुक्त खानेकुरा प्रदानसँगै कडा प्रकारको कुपोषण भएकाहरूलाई ७ दिनमा र मध्यम कुपोषण भएकाहरूलाई १५ दिनमा थप परीक्षणका लागि ल्याउन भनिएको छ । नगरबाट कुपोषण अन्त्यका लागि यो कार्यक्रम सञ्चालन गरिएको र यसलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्