मोरङमा बोक्सीको आरोपमा बृद्ध दम्पतीमाथि कुटपिट


 


मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ स्थित धाती टोलमा बोक्सा र बोक्सीको आरोपमा ६० वर्षीय वृद्ध र उहाँकी श्रीमतीमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन् ।

सोही ठाउँका एकै परिवारका चार जनाले छिमेकी बोक्सा र बोक्सीको आरोप लगाउँदै वृद्धवृद्धालाई कुटिपट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी वृद्ध दम्पतिलाई कुटपिट गरेपछि ६३ वर्षीय टुनका खवास, ३१ वर्षीय रामकुमार खवास, ३५ वर्षीय श्यामलाल खवास र ३० वर्षीया शशिकला खवासलाई पक्राउ परेका छन् । उनीहरु एकै परिवारका बुवा, छोरा र बुहारी हुन् ।

बुहारी शशिकलाले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुले बुधबार विहान १ बजेको समयमा बोक्सा र बोक्सीको आरोप लगाउँदै बृद्ध दम्पतीको घरमै पुगेर सामूहिक रुपमा कुटपिट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । कुटपिटबाट घाईते दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । अवस्था केही गम्भीर रहेकी वृद्धालाई थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइयो ।

उनलाई केही समयका लागि संरक्षण र रेखदेखको जिम्मेवारी दिएर कोकन नेपाल नामक संस्थाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारका सदस्य सधैं बिरामी पर्ने गरेको र छिमेकी बोक्सा बोक्सी रहेका कारण उनीहरुले गरेको टुनामुनाले बिरामी हुने गरेको भन्दै वृद्धवृद्धामाथि आक्रमण गरिएको खुलेको छ । घरमा चिन्ता बस्ने क्रममा शशिकलाले बोक्सा र बोक्सीको आरोप लगाएपछि परिवारका सबै सदस्य एक जुट भएर घरमै पुगि वृद्धवृद्धालाई निर्घात कुटपिट गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको एसपी केसीले बताए ।

खवास परिवारले वृद्धवृद्धालाई पहिल्यैदेखि बोक्सा बोक्सीको आरोप लगाउँदै आएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । पक्राउ गरिएका चारै जना विरुद्ध प्रहरीले बोक्सी आरोपको कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी मध्ये धामी झाँक्रीको काम गर्दै आएकी शशिकला हिरासत भित्र पनि कापिरहेकी छन् । देवताले दुःख दिएको भन्दै उनी निरन्तर कापिरहेपछि सुरक्षामा खटिने प्रहरी समेत अचम्ममा परेका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्