नेकपाको सचिवालय बैठक सुरु, के – के हुँदैछ निर्णय ?


 


काठमाडौं, वैशाख ८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन अहिले सचिवालय बैठक बसिरहेको छ ।  पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि अनुमोदनका लागि अहिले बैठक बसिरहेको छ ।

आज बिहान नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो । यसका साथै नेकपाका दोस्रो तहका नेता तथा जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ । उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो । छलफलबाट टुंगोमा पुगेका विषयमा नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ । अध्यक्षद्वय ओली र दाहाल केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रुप दिन लागि परेका छन् ।

नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्वको टुंगो लगाउनुपर्ने अडान राख्दै आउनुभएको छ । नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीमात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् । ७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेता बीचमा भएपनि नेतृत्वका विषय टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्