काँग्रेस नेता खतिवडाले भने : कम्युनिष्ट सरकारलाई विश्व समुदायले विश्वास नै गरेन


 


ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्ट सरकार गठन भएको डेढ वर्ष पुग्नै लाग्दा पनि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले आइतबार आयोजना गरेको गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले यस्तो टिप्पणी गरेका हुन् ।

‘‘झण्डै डेढ वर्षको अवधिमा यो सरकारले एउटा पनि उपलब्धिमुलक काम गरेको छैन,’’ उनले भने, ‘‘हामीले त पहिलानै भनेको थियौ, सरकारले केही गर्दैन भनेर । हुँदाहुँदा विश्व समुदायले पनि टेरेन ।’’ लगानी सम्मेलनमा सरकारले ३७ खर्बको अपेक्षा गरे पनि १५ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको नेता खतिवडाको भनाइ थियो ।

‘‘सरकारले ३७ खर्बको अ‍ेपक्षा गरेको थियो । बिडम्बना १५ खर्ब मात्र लागानी गर्न तयार भए,’’ उनले थपे, ‘‘त्यसमा पनि रेल र पानीजहाजमा एक सुक्को लगानी गरेनन् । यसको मतलब यो सरकारलाई विश्व समुदायले विश्वास नै गरेन ।’’

केपी ओली नेतृत्वको सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल रहेको दाबी गर्दै खतिवडाले अब सरकारको लेखाजोखा कांग्रेसले गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्