शासकको घरमा भेटियो ठूलो परिमाणको विदेशी मुद्राले भरिएका बोरा


 


एजेन्सी। हालै सेनाद्वारा अपदस्थ सुडानका राष्ट्रपति ओमार अल बसिरको निवासबाट सेनाले ठूलो परिमाणको विदेशी मुद्रा बरामद गरेको छ । सुरक्षा निकायले सुटकेश र बोरामा हालिएको अवस्थामा युरो, डलर र सुडानी मुद्रा समेत गरी कूल १३० मिलियन अमेरिकी डलर बराबरको नगद फेला पारेको हो । बसिर ३० वर्षसम्म सत्तामा रहेका थिए ।

बसिरलाई सत्ताबाट हटाउनुपर्ने माग गर्दै महिनौदेखि आन्दोलन भइरहेको बेलामा उनलाई हालै सेनाले अपदस्थ गरेको हो । सुडानको रेडियो दबंगाले नगदले भरिएको बोरा सुरक्षाकर्मीले चलाउँदै गरेको तस्बिरसमेत सार्वजनिक गरेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।


५० केजी अन्न राख्नका लागि बनाइएका ती बोरा भरिभराउ देखिन्छन् । सुडानको अभियोजकको कार्यालयले भ्रष्टाचार सम्बन्धी छानबिन गर्नका लागि समिति गठान गरिने जनाएको छ । बसिरलाई ११ अप्रिलका दिन सेनाले हटाएको हो । सेनाले नागरिक प्रशासनलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भन्दै सर्बसाधारणले रक्षा मन्त्रालय अगाडि प्रदर्शन जारी राख्दै आएका छन् ।

बसिरलाई विगतमा डार्फुर क्षेत्रमा भएको हत्यालाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालतले हस्तान्तरण गर्न आग्रह गरेपनि सेनाले आफ्नै देशको कानुनी प्रक्रियामार्फत उनलाई कारवाही गर्ने जनाउँदै आएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्