किन हुन्छ हवाई दुर्घटना ?
फागुन १२ बुधबारको तारा एयरको हृदयबिदारक दुर्घटना र मानिसहरुको मृत्युले सिर्जित बेदना अलिकती पनि सेलाउन नपाउदै फेरी यही शुक्रबार काष्टमण्डप एयरको अर्को प्लेन कालिकोटमा दुर्घटना हुँदा चालकदलका दुबै सदस्यको मृत्यु भएको छ। महाभूकम्पबाट शुरु भएको २०७२ सालका दिनहरु हामी नेपाली माथि बज्रपातनै बज्रपात बनेर थोपरिएको छ।
महाभूकम्पले थिलथिलो बनाएको नेपाली समाज तत्कालैको भारतको नाकाबन्दिले ढाडमै प्रहार गर्ने काम भयो भने अहिले हाम्रा प्रिय नेपाली दाजुभाइ दिदिबहिनीहरु श्रृंखलाबद्ध रुपमा प्लेन दुर्घटनामा परेर मरेको मर्यै हुँदा सारा नेपालीको आत्मा भतभती पोलेको छ। भूकम्प आउनु पूर्ण रुपमा प्राकृतिक खेल हो जसलाई मानबिय शक्तिले रोक्न सक्ने कुरा हैन तर भारतको नाकाबन्दी उसको ठुल्दाइ बन्ने अभिमानको प्रतिफल थियो । तर, पटक पटक हुने हवाई दुर्धटनामा चाँहीँ हाम्रै हेलचेक्रयाइपना धेरै हदसम्म जिम्मेवार छन।
तमाम कारणले देश समस्यामा रुमलिरहेको भए पनि यो लेखमा चाँहीँ हाम्रो देशको हवाई सुरक्षासँग सम्बन्धित रहेर बिष्लेशण गर्ने प्रयास गरिन्छ । तारा एयर दुर्घटनाका दर्दनाक द्रिश्यहरु नेपाली संचारमाध्यमबाट फटाफट बाहिर आउन थालेदेखिनै देश बिदेशका नेपालीहरु सामाजिक संजालमा सरकारी निकायले हवाई सुरक्षामा दर्हो कदम नचालेको भनेर दर्दमिश्रित आक्रोश पोख्न थालिसकेका थिए।
तर २ दिनपछी तुरुन्तै अर्को एक इन्जिनयुक्त जहाजलाई अती उच्च हिमाली भेगमा उडाउँदा थप २ होनहार नेपाली युवा पाइलटको दर्दनाक मृत्यु हुन पुग्दा अहिलेको अवस्थामा जनताको तर्फबाट सम्बन्धित बिभागीय मन्त्री, मन्त्रालय र बिभागप्रती आक्रोश र आरोपहरु चुलिने पक्का पक्की छ। केलाएर हेर्ने हो भने देशको समग्र प्रणालीनै थितियुक्त नभैसकेको अवस्था हवाई सुरक्षा पनि कमजोर हुन जानु स्वाभाबिक हो भनेर मान्नुपर्ने हुन्छ।
देशमा एउटा राजनीतिक ब्यबस्था स्थापित हुँदानहुँदै अर्को ब्यवस्थाको लागि संघर्ष सुरु भईहाल्नु, अघिल्लो सरकारले सुधारका योजना कार्वान्बयन गर्न नपाउँदै सरकार छोड्ने अवस्था आइहाल्नु र पछील्लो सरकारले ती योजना खारेज गरिदिनु जस्ता अस्थिरै अस्थिरताको असर हाम्रो देशको हवाई क्षेत्रमा पनि पर्दै आयो। यात्रुको सुरक्षा पहिलो शर्त हो भनेर एकातर्फ नेपाली आकाशलाई सुरक्षित पार्न कडा मापदण्ड सरकारले लागू गर्न सकेन भने अर्कोतर्फ कमजोर कानूनको फाईदा लिएर बायुसेवा कम्पनीहरु बिदेश वा स्वदेशभित्रैबाट पनि थोत्रा जहाज किन्दै आन्धाधुन्द यात्रु ओसार्न लागे।
खसीबाख्रा किनेजस्तो मोलमोलाई गरेर किनिएका प्लेनहरु ठाउँ-कुठाउँ ठोक्किन्छन, झर्छन भन्ने त पक्कापक्कीनै थियो। तर एकपटक घटना भैसकेपछी त्यो घटनाबाट सिकेर, विश्वका अन्य देशमा हवाई सुरक्षामा अपनाइएका नियम र बिधिहरु अपनाएर हाम्रो देशको पनि समग्र हवाई प्रणाली अत्याधुनिक पार्न सकिन्थ्यो।
तर हामीमा सरकारी निकायहरु, राजनीति र देशका नेतालाई दोषारोपण गर्दै आफ्नो आफ्नो बिभाग वा निकायले गर्नुपर्ने काम नगरि जिम्मेवारीबाट पंक्षिने प्रब्रित्ती छ। हवाई सुरक्षा के कसरी अपनाउने भन्ने योजना बुन्ने काम नागरिक उड्ययन प्राधिकरणमा काम गर्ने उच्च पदस्थ कर्मचारीले गर्ने काम हो।
सम्बन्धित निकायले राम्रो योजना, नीति बनाउन के देशकै प्रधानमंत्रीलाई सोधिरहनपर्छ र ? बिभाग वा तल्लो निकायले बनाएको राम्रो कामको खाकालाई सम्बन्धित मन्त्री वा देशकै प्रधानमंत्रीले अनुमोदन नगर्ने भन्ने सवाल रहन्छ र ? प्रतिश्पर्धाको यो युगमा नबिन सोच र योजनाले काम गर्नुपर्छ भनेर हामी नेपालीले बुझ्ने बेला अझै भएको छैन ?
नेपालको आन्तरिक उडानमा मौसमी अवरोध
हाम्रो देशका अधिकांश आन्तरिक सेवाका बिमानस्थलहरु मध्य पहाडी र उच्च पहाडी भेगमा अवस्थित छन। मध्य-पश्चिमको ताल्चा बिमानस्थलदेखि मध्य नेपालको जोमसोम तथा पूर्वको लुक्ला बिमानस्थल उचाइका कारणले चुनौतिपूर्ण मानिन्छन्। यी मात्रै हैनन् देशका अन्य अधिकांश बिमानस्थलबिच आवतजावत गर्नुपर्दा चुनौतिपूर्ण मौसमको सामना गर्नुपर्ने बाध्यता छ।
पत्रैपत्र पहाड पार गर्नुपर्ने ति पहाडमा छिनछिनमा बादलले लुकामारी खेलिरहने कारणले नेपालको आन्तरिक हवाई उडान वास्तबमै चुनौतिपूर्ण छ। नेपालमा अहिलेसम्म सानाठूला गरी भएका ७७ वटा हवाइ दुर्घटनालाई हेर्ने हो भने असी प्रतिशत दुर्घटनामा मौसम गडबडिको कारण जोडीएर आएको देखिन्छ।
अझ पहिले पहिलेका हवाई दुर्घटना बर्षाद्को मौसममा घट्ने गर्थे तर बुधवारको तारा एयरको प्लेन अहिलेको शुख्खा मौसममा दुर्घटनामा पर्दा अरु सोचनिय बनाएको छ। त्यसैले अब नेपाली आकासमा अन्दाजिको भरमा प्लेन उडाउने जस्तो मूर्खतापूर्ण काम बन्द गरिनुपर्छ।
अव हाम्रा सम्पूर्ण आन्तरिक सेवाको लागि प्रयोग हुने जहाजहरु सम्पूर्ण रुपमा प्रबिधिले सुसज्जित अथवा आइएफआर (इन्स्ट्मेन्ट फ्लाइट रुल्स) प्रणालिमा जानु अती आवश्यक छ। बिमानस्थलका बिचका स्थानको मौसमलाई चौबिसै घण्टा अनुगमन गर्न अत्याधुनिक प्रतिधियुक्त मौसम मापन यन्त्र स्थापना गरिनुपर्छ।
नेपाली प्रबिधिबिग्य महाबीर पुनले पोखरा-जोमसोम रुटको हवाई उडानलाई सजिलो हुने गरी जुन मौसम मापन क्यामेरा जडान गरिदिएका छन् त्यो प्रबिधी लगायत अन्य उपलब्ध सर्बोत्तम प्रबिधी प्रयोग गरी नेपाली आन्तरिक हवाई क्षेत्र हर पल देशको मौसममा अपटुडेट रहन अती आवश्यक देखिन्छ।
सेवा मात्रै हैन उद्द्योग पनि
हामीले हाम्रो हवाई सेवालाई अहिलेसम्म अन्य धेरै सेवा क्षेत्रझै एउटा सेवा क्षेत्र हो भनेर मुल्यांकन गरी आएका छौँ। तर हवाई क्षेत्र अब संसारमा भब्य उद्धोगको रुपमा बिकास भैसकेको छ।
यो यथार्थतालाई हामीले आत्मसात गर्नु आवश्यक छ। क्यानको प्रगति विवरणलाई हेर्ने हो भने सन् २०१४ को पहिलो १० महीनामा त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल(टीआईए)बाट २८ लाख ८५ हजार हवाई यात्रुले आवागमन गरेको देखिन्छ। त्यसमा चालिस प्रतिशत आन्तरिक यात्रु थिए।
सिजनमा टीआईएमा अहिले साना–ठूला गरी दैनिक तीन सय भन्दा बढी विमान आवत–जावत गर्छन्। गत बैशाखमा महा-भूकम्प जानु अघिको गतिमा हवाई ट्राफिक फेरी बढ्दै जाने हो भने अव टीआईएले धान्न नसक्ने देखिन्छ। हाल तीन हजार मीटरमात्रै लम्बाइ रहेको हुनाले टीआईएमा अन्तरराष्ट्रिय स्तरका जम्बो प्लेन अवतरण गर्न सक्दैनन।
यदि नेपालको पर्यटन ब्यवसाय एकदमै राम्रो मार्गमा हिँड्न थाल्यो भने अहिलेको एकमात्र अन्तरराष्ट्रिय एयरपोर्टमा बिश्बबिख्यात सिंगापुर वा एमिरेट्स एयरलाइन्सले आफ्ना वाइड बडी जहाज उतार्न सक्ने छैनन्। एशियाली बिकास बैंकको सहयोगमा काठमाडौं बिमानस्थलको स्तरोन्नती शुरु गरिएको भए पनि नेपालको हवाई उद्द्योगलाई बिकास गर्नु छ भने निजगढको प्रस्तावित बिमानस्थलको निर्माण कार्य तुरुन्तै शुरु गर्न आवश्यक छ।
पोखरा र भैरहवा बिमानस्थलको स्तरोन्नतिको कामलाई शुरु गराई अगाडि बढ्न आवश्यक छ। तर कुरो उही हुन आउछ, यी महत्वाकांक्षी काम सम्पन्न गर्न हामी कत्तिको प्रतिबद्ध छौं। हामीलाई अहिले मेघा प्रोजेक्टको राम्रो अनुभब नभए राम्रा राम्रा बिदेशी कम्पनीलाई भित्र्याएर काम लगाएर ती मार्फत हाम्रा इन्जिनियर लगायत अन्य प्राबिधिकलाई सक्षम किन नबनाउने! सबैले आ-आफ्नो स्थानबाट काम गरे हवाई क्षेत्र देशको लागि अर्थतन्त्रको मेरुदण्ड बन्ने पक्का पक्की छ।
अन्त्यमा,
हाल हवाई क्षेत्रमा देशका जनताको माग र चिन्ता भनेको यात्रुको सुरक्षालाई अब सरकार लगायत सबै सम्बन्धित निकायले के कसरी सम्बोधन गर्छन् भन्ने हो। अब पनि जाँचबुझ आयोगले सुझाबसहितको प्रतिबेदन दिने तर सम्बन्धित निकाय केही नगर्ने अवस्था रह्यो भने नेपाली जनता हाम्रा जहाजलाई मृत्युघर ठान्न थाल्नेछन। बिदेशी पर्यटक नेपाल आउनु र हाम्रा आन्तरिक जहाज प्रयोग गर्नु धेरै परको कुरो हुन जानेछ।
प्रकाशित मिति: १५ फाल्गुन २०७२, शनिबार