प्रधानन्यायाधीशको हात महिलाका गोप्य अंगमा पुगेपछि भारतभरि हँगामा
नयाँदिल्ली, ८ वैशाख । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोइमाथि उनकै एकजना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट)ले यौन उत्पीडन गरेको आरोप लगाएकी छन् ।
प्रधान न्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दूर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भनी आरोपको खण्डन गरेका छन् ।
पूर्व सहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ वर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई गएको शुक्रबार पत्र लेखी आफूलाई गगोइले सरकारी निवासस्थित कार्यालयमा गएको वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुर्व्यवहारको प्रयास गरेको बताएकी छिन् ।
गोगोइले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको बताएका छन् । उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने बताउएका छन् ।
प्रधान न्यायाधीश गगोइले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको बताएका छन् । उनले भने, ‘यी महिलालाई सर्वोच्चमा कसरी जागिर मिल्यो ? जबकी उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।’
महिलाले गोगोइले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छिन् । एएफपीले प्राप्त गरेको पत्रमा महिलाले भनेकी छिन्, ‘उहाँले मेरो कम्मरमा समात्नुभयो, शरीरका सबै अङ्गमा हात लगाउनुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।’
प्रधानन्याधीश गोगोइविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोइ, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाइ भएको छ ।
शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष बेञ्चमा सुनुवाइ हुने बताइएको छ ।
प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार