हिरासतमा बालकको रहस्यमय मृत्यु, झापामा प्रहरीले गर्यो प्रमाण नष्ट


 


झापा बैशाख ५

कुनै बेला अपराध अनुसन्धानमा दक्षिण एसियामै नाम कमाएको नेपाल प्रहरी केही समय अघिबाट बिभिन्न बिवाद तथा अपराधमा मुछिदै आएको छ । हुन पनि समाजमा अपराध नियन्त्रण गर्नै जिम्मेवारी लिएर बसेको प्रहरीले नै कहिले सुनको तस्करी, कहिले अवैध असुलि त कहिले बलात्कार र हत्याजस्तो जघन्य अपराधको प्रमाण लुकाउने जस्ता काममा संलग्न हुनुले पनि संगठनको साख दिनानुदिन गिर्दो छ । त्यतिमात्र होइन प्रहरीले सरकारी बर्दी र शक्तिको आडमा गरेका कयौ अवैध कार्यहरुको उदाहरण चर्चामा छ यतिखेर ।

यस्तै शक्तिको चरम दुरुपयोग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले एउटा गैर कानुनी हर्कत गरेको सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका एक किशोरको रहस्यमय तरिकाले मृत्यू भएपछी र त्यसलाई गुपचुप गराउँन खोजेपछी प्रहरीको काम कार्वाही शंकाको घेरामा परेको छ । अझ, कुनै घट्ना घटेपश्चात त्यसको प्रमाणको सुरक्षा गर्नु पर्नेमा उल्टै घटनासँग सम्बन्धित प्रमाण प्रहरीले नै नष्ट गर्नुले कतै न कतै घटनामा प्रहरीकै संलग्नताको पुष्टि गरेको छ ।

गत ०७५ साल चैत्र २८ गते १० हजार रुपैयाँ चोरीको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको मेचिनगर– ६ का १६ वर्षिय किशोर किरण कार्की ढोलीको हिरासतमै शंखास्पद मृत्यू भएको घटना गुपचुप गराइएको र प्रमाण नष्ट गरेको पाइएको छ । गत बैशाख १ गते राती २ बजे मेचीनगर निवासी कार्की ढोलीको हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले हिरासतमा झुण्डिएको भनिएका कार्की ढोलीको लास परिवार र आफन्तलाई समेत सुइको नदिइ सोही रातको ३ बजे पोष्टमाटम गर्न भन्दै मेची अञ्चल अस्पताल पुर्याएको थियो । त्यस्तै प्रहरीले बिहान ११ बजेमात्रै मृतकका बाबुलाई छोराले आत्महत्या गरेकोले अञ्चल अस्पताल गएर लास बुझन भनेको उनका बुवा रमेश कार्की ढोलीले बताए ।

उनले भने ‘काँकरभिट्टाबाट बिर्तामोड आउन्जेल केही भनेनन्, इलाकामा ल्याएर फ्रुटी ख्याए, अनि चिल्लो लाउँदै भने तपाईको छोराले आत्मा हत्या गर्यो ।’ छोराको मृत्युको खबरले केहि कुरा सोच्न नसेकोको र प्रहरीले केहि नसुनाई मुचुल्कामा सहि गराएको उनले बताए ।

कानुनतहः कसैले आत्महत्या गरेमा घटना प्रकृति मुचुल्का गर्नुपर्ने र त्यसमा परिबारका सदस्यलाई समेत साक्षी राख्नुपर्नेमा प्रहरीले बाबुलाई समेत जानकारी नदीई रातारात घटना गुपचुप गराउने गतिबिधि गरेको हो । प्रहरीले जिन्सको पेन्टको पासो लगाई आत्महत्या गरेको भनिएका कार्की ढोली २ बजे राती झुण्डिएको र यो कुरा कसैलाई नभन्न भन्दै हिरासतमा रहेका अन्य थुनुवालाई त्रास देखाएको उनिसँगै हिरासतमा रहेका छुटेका एक व्यक्तिले बताए । उनले बोलेको भिडियो सुरक्षित छ । उनको सुरक्षाको लागि नाम गोप्य राखिएको हो ।

साथिको मोवाइल चोरी गरेको आरोपमा मृतक कार्की ढोलीसँगै हिरासत बसेर गत बैशाख २ गते उनि छुटेका हुन् । उनले सबै घटना आफूले प्रत्यक्ष देखेको बताएका छन् । उनले कार्की ढोलीलाई प्रहरीले कुटपिट समेत गरेको बताएका छन् । प्रत्यक्षदर्शी उनले राती ३ बजे आफन्त बिनै लास पोष्टमाटम गर्न भन्दै प्रहरीले लगेको बताए । उनि पनि १५ बर्ष भन्दा कम उमेरका हुन् ।

प्रत्यक्षदर्शीको भनाइको आधारमा लास उठाएपछी बिहानै प्रहरीले शौचालयको ढोका र झुण्डिएको भनिएको धारा समेत मिस्त्री बोलाएर काट्न लगाएको छ । त्यस्तै सो स्थानमा सिसि क्यामेरा समेत सोही दिन जडान गरेको छ । यसले प्रहरीले आफ्नो कमजोरी र कर्तुत लुकाउन प्रमाण नष्ट गरेको प्रमाणित भएको ।

त्यस्तै प्रहरीले प्रचलित कानुन बिपरित बालबालिकालाई हिरासतमा लिने समेत गरेको यो घटनाले पुष्टि गरेको छ । सबै घटना प्रत्यक्ष देखेका गुरुङ १४ बर्ष र मृतक कार्की ढोली समेत १६ बर्षका मात्रै भएकाले उनीहरुलाई हिरासतमा लिन नमिल्ने मृतकको जन्मदर्ता प्रमाणपत्रबाट देखिएको छ । कानुनतह १८ वर्ष मुनिका बालबालिकालाई अन्य अभियुक्त राख्ने हिरासतमा लिएर अनुसन्धान गर्न नपाइने कानुनी प्रावधान रहेको मानव अधिकार सञ्जाल झापाका अध्यक्ष बिष्णु खरेलले बताए ।

खरेलले प्रहरीले मृतकका बाबुलाई ललाइफकाई घटना गुपचुप गराउन खोजेको सुचना आफूहरुले पाएको बताए । घटना सम्बन्धमा मानव अधिकार संञ्जाल झापाले समेत अनुसन्धान थालेको खरेलले बताए । उनले १८ बर्षमुनिका बालबालिकालाई हिरासतमा लिनु र आत्महत्या गर्नेसम्म पुर्याइनु गम्भिर भएको बताउदै सम्बन्धित प्रहरीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए ।

आफू शक्तिहिन ब्यक्ति भएकाले प्रहरीले भनेअनुरुप लास बुझन बाध्य भएको उनले बुवा रमेश कार्कीले बताए ।
हिरासतमा झुण्डिएको भनिएको लासको प्रकृति नदेखाई हतारमा पोष्टमाटम गर्न लैजानुले प्रहरीको नियतमाथी शंका उत्पन्न भएको लास बुझन गएका छिमेकीको भनाई छ ।

यता प्रहरीले हिरासतमा घटना घटेको स्विकार गर्दै आफूहरुले कानुन बमोजिम सबै प्रकिया पूरा गररे नै मृतकका आफन्तलाई लास जिम्मा लगाएको अपत्यारिलो जवाफ जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपि महेन्द्र कुमार श्रेष्ठ दिएका छन् । प्रहरीले मृतक कार्की १८ बर्ष नपुगेको किशोर भएपनि १९ बर्षको भएको दाबी गर्दै आएको छ । यस सम्बन्धमा बिभागिय छानबिन चलिरहेको श्रेष्ठको भनाइ छ ।

यता प्रहरीले गुपचुप मिलाएको घटना सार्वजनिक हुन थालेपछी सम्बन्धित संचारकर्मीलाई बिभिन्न ब्यक्ति प्रयोग गरी समाचार रोक्न अनुनय बिनय गर्न थालिएको छ । घटना सार्वजनिक भए १८ बर्ष मुनिकालाई हिरासतमा लिएको, यातना दिएको र प्रमाण नष्ट गरेको सबै पोल खुल्ने र त्यसको असर बिर्तामोडका डिएसपि सुवास खड्कालाइ पर्ने भन्दै घटना सार्वजनिक नगर्न दवाव दिइएको जानकारहरुको भनाई छ ।

धेरै जसो यस्ता बिवादमा मुछिदै आएको इलाका प्रहरी कार्यालय अनारमनीले प्रहरीलाई पटक पटक संगठनले जोगाउने गरेको छ । हिरासतमा रहेका कैदीहरुसँग मुद्धा मिलाइ दिन्छु भन्दै मिद्धा फाँटका असई दुर्गा खनालले पैसाको बार्गेनिङ्ग गर्ने गरेका हिरासतमा रहेका अभियुक्तहरु बताउँछन् । खानाल लामो समयबाट जहाँ सरुवा भए पनि काजमा बिर्तामोडमा बसेर अभियुक्तसँग पैसा असुली हाँकीमसम्म पुर्याउन माहिर रहेको प्रहरी स्रोत बताउँछ । बिर्ताज्योतीको सहयोगमा

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्