मुर्ति चोरी काण्डका नाइके,नेविसंघ सभापति प्रहरी खोरमा


 


गणेश आचार्य दाङ । बस व्यवसायीमाथि आक्रमण गरेको आरोपमा घोराहीका एकजना टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ । नमस्ते यातायात प्रालिका सल्लाहकार राजु खाँनलाई सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले टोले गुन्डा तिलक रावतलाई पक्राउ गरेको हो ।

रावतले गएराती करिब पौने ९ बजेतिर घोराहीको तुलसीपुर चोकमा खाँनलाई बियरका बोतलले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खाँनको टाउकोमा ८ वटा टाँका लगाइएको छ । उनको उपचार नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा गरिएको हो । खाँनले रावतले आफूलाई आक्रमण गर्नुका साथै आफूसँग भएको ४२ हजार २ सय ५० रुपैँया लुटेर लगेको जानकारी दिएका छन् ।

नेविसंघ दाङ साविक क्षेत्र नम्वर ३ का सभापति समेत रहेका रावत यसअघी मुर्ति चोरी काण्डमा पक्राउ परेका थिए । त्यतिबेला २४ दिन हिरासतमा थुनिएका उनलाई अदालतले काराकार पठाएको थियो । पछी उनि धरौटीमा छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका रावत घोराहीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दीमा सक्रिय छन् । पहिले गुन्डा नाइके विकास पुनको समुहमा सक्रिय उनी पछिल्लो समय अर्का गुन्डा बावु पुनसँग निकट थिए । दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले उनलाई पक्राउगरी हिरासतमा राखिएको र के मुद्दा चलाउने भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एसपी पाण्डेका अनुसार रावत अपराधिक पृष्ठभुमीका व्यक्ति हुन् ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्