बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशीलका १७ नेता पक्राउ


 


काठमाण्डौँ । बालुवाटारबाट विवेकशील नेपालीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय परिसर भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका उज्जवल थापासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । मल्पी इन्टरनेशनल स्कूल अगाडिबाट अघि बढ्ने क्रममा प्रहरीले जर्बजस्ती पक्राउ गरी भेनमा हालेको नेता मिलन पाण्डेले बताए ।

पक्राउ परेकाहरूलाई पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको छ । पक्राउ पर्नेहरुमा उज्जवल थापा, मिलन पाण्डे, शशिविक्रम कार्की, अमृत विष्ट, रमेश सिलवाल, रामजी पन्त, पुरुषोत्तम ढुंगेल छन् । यसैगरी शिव सत्यम, दयराम सापकोटा, विमल तामाङ, प्रमेश श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवाली छन् ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको छ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिका नाममा पुगेको छ । सरकारी जग्गा हत्याउने यो प्रकरणमा भूमाफियाको संरक्षकमा सत्तारुढ नेकपाका नेता, अख्तियारका पूर्व आयुक्त तथा पूर्व सचिवहरूको संलग्नता देखिएको छ ।

विवेकशी नेपालीले भूमाफियाविरूद्ध कारवाही माग गर्दै गैरकानुनी रूपमा माफियाको कब्जामा पुगेको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्ने कार्यक्रम राखेको थियो ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्