अन्ततः भारतमा ब्लक भयो टिकटक, नेपालमा के होला ?


 


काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् ।

यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् ।

तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् । मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्‍यो ।

त्यस बमोजिम दुवै कम्पनीले कदम चालेका हुन् । मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्‍यो ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ । बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो । नेपालमा पनि टिकटकमा प्रयोगकर्ता बढिरहेका छन् ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्