उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छ: मुख्यमन्त्री राउत


 


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलबार जनकपुरमा आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा भएको बताए ।

विगतमा सडेका मिठाईलाई गुँदपाक बनाई बिक्री गर्ने व्यवसायीले मानवको जीवनसँग खेलबाड गर्दा पनि दण्डित नहुनु विडम्बना भएको उनले उल्लेख गरे ।

उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधीसरह कारवाही गर्न आवश्यक भएको राउतले बताए । उनले जनस्वास्थ्यमा खेलवाड गर्ने मिठाई, मासु, झिल्ली, कचरीलगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने खाँचो औँल्याए ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी धनुषा जिल्लामा खुला रूपमा दुग्ध बिक्री वितरणमा रोक लगाइने बताए।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले दोषीउपर कारवाहीको अवस्था कमजोर भएकाले उपभोक्ताका गुनासो बढ्दै गएको उल्लेख गरे । आयोगका सदस्य मोहना अन्सारीले संविधान र कानूनले उपभोक्ता अधिकारको संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने गरी कानूनी व्यवस्था गरेको बताइन् ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्