नेकपा महासचिवलाई निलम्बनको माग सहित पार्टी भित्र बहस सुरु


 


काठमाडौ । अहिले नेपाली राजनीति बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरण वरिपरी घुमिरहेको छ । यस प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने भन्दै पार्टी भित्र बहस सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उहाँले बुझेको सङ्केत दिनु भएको छ । तर उहाँले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिनु भएको छ । महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गर्नुभएको छ । तर, सरकारका प्रवक्ता गोकुल बास्कोटाले पौडेलले त्यो जग्गा व्यक्तिबाट किनेको बताउनु भएको छ ।

यस्तै, सांसद समेत रहेका केन्द्रीय सदस्य मेटमणि चौधरीले छानबिन सहज बनाउन पौडेल स्वयम्‌ले पद पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ आफैँले राजीनामा दिए छानबिन गर्न पार्टीलाई सजिलो हुन्छ । र नेपाली नेताले उच्च संस्कार र नैतिकता देखाउन सक्छन् भन्ने सन्देश पनि प्रवाह हुन्छ ।’ त्यसो गर्न पौडेल तयार नभए उहाँलाई निलम्बन गर्नु पर्ने उहाँको धारणा छ ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्