जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन बाटो खुला


 


काठमाडौं, वैशाख ३
सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटो खोलिदिएको छ।

वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपानेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटो खोलिदिएको हो। न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेउपानेले दायर गरेको रिटमाथि मंगलबार अन्तरिम आदेश जारी नहुने फैसला सुनाएको हो।

अधिवक्ता नेउपानेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग सर्वोच्चमा रिट दायर गरेको थिए। यसअघि गृह मन्त्रालयले गत चैत १९ मा जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिन ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिटमाथि प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चले यसअघि गृहमन्त्रालयको परिपत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष-विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको थियो।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्