जनतालाई खानेपानीको पहुँच पु-याउन योजनाबद्ध ढंगले अघि बढेका छौ – मन्त्री बीना मगर


 


काठमाडौं  बैशाख ३ 

खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुभएको छ ।

तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पु-याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो । गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रीबाट पानी ट्यांकीको शिलान्यास गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु¥याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पु-याउन सरकार लागिरहेको जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

मन्त्री मगरले जनतालाई मालिक बनाउन खानेपानीको क्षेत्रमा सहलगानी मोडालिटीमा आयोजनाहरु अघि बढाइएको बताउनुभयो । खानेपानीमा जनताको प्रत्यक्ष सहभागिता गराएर मात्रै आयोजनाहरु अघि बढाउँदा समयमै काम सकिने र सफल हुने उहाँको भनाई थियो । ‘जनताले आफैं लगानी गरेको आयोजनाहरु सफल भएका छन् । सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजनाहरु अघि बढाउन हाम्रो टीमले काम गरिरहेको छ । अन्नका लागि मात्रै नभई पानीका लागि पनि हामी संघर्ष गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

गोलढुंगामा शिलान्यास भएको पानी ट्यांकीको लागत ५० लाख रुपैंया रहेको छ भने उक्त ट्यांकीको क्षमता २ लाख २० हजार लिटर रहेको छ । समितिले खानेपानी विभाग अन्तर्गतको सहलगानी आयोजनासँग मिलेर तारकेश्वर नगरपालिका भित्र पाँच वटा पानी ट्यांकीहरु निर्माण गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्