ट्रम्पकोे यस्तो ट्वीटः जसले अमेरिकी सांसदको ज्यान जोखिममा पर्यो


 


एजेन्सी – अमेरिकी सांसद इल्हान ओमरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा आफूलाई आउने हत्याको धम्कीमा बृद्धि भएको बताएकी छिन् । केही दिन अघि ट्रम्पले ओमरले अघिल्लो महिना दिएको एक भाषणलाई ९–११ को भिडियोसँग जोडेर देखाएका थिए ।

ओमरले राष्ट्रपति ट्रम्पले आफूविरुद्ध उग्र–दक्षिणपन्थी हिंसाका लागि प्रोत्साहन गरेको आरोप लगाएकी छिन् ।

ह्वाइट हाउस प्रमुख प्रेस सचिव सराह स्याण्डर्सले भने आइतबार ट्रम्पको प्रतिरक्षा गर्दै उनले हिंसालाई प्रोत्साहित गरेको कुरालाई खण्डन गरिन् ।

ओमरले आइतबार साँझ जारी गरेको एक विज्ञप्तीमा लेखेकी छिन्, ‘राष्ट्रपति ट्रम्पको शुक्रबार साँझको ट्वीटदेखि मलाई मार्ने धम्कीहरु बढेको छ । धेरैले धम्कीमा राष्ट्रले हालेको भिडियोलाई उल्लेख गरेका छन् । प्रहरी, एफबीआई, संसद सुरक्षा अधिकारी र सभामुखले यी धम्कीहरुमाथि दिएको चासोको लागि म धन्यवाद दिन्छु’ ।

आइतबार अमेरिकाको सभामुख पेलोसीले तल्लो सदनको सुरक्षा हेर्ने अधिकारीसँग ओमरको सुरक्षालाई लिएर कुरा गरेको र सुरक्षा मुल्याकंन संचालन गर्न नचाहेको पनि बताइन् ।

शुक्रबार ट्रम्पले ‘हामी बिर्सने छैनौँ’ लेखेर एक भिडियो ट्वीट गरेका थिए जसमा उनले अघिल्लो महिना ओमरले दिएको एक भाषणको लिङ्क थियो । ट्रम्पले शेयर गरेको भिडियोको बीच बीचमा ९–११ को आक्रमणको सम्पादित भिडियो पनि राखिएको थियो ।

ट्वीटमा शेयर गरिएको भिडियोमा ओमरले भनेकी छिन्, ‘लामो समयसम्म, हामीहरु दोस्रो–दर्जाको नागरिक असहज जीवन बाँचिरहेका छौँ । सिधै भन्ने हो भने म यस्तो अवस्थाबाट थाकिसके र यो देशका हरेक मुसलमानहरु यसबाट थाकिसकेको हुनुपर्छ । सीएआईआर ९–११ पछि स्थापना गरिएको थियो । किनकि उनीहरुले केही व्यक्तिले गडबढी गरेको पहिचान गरे र त्यसको परिणाम हामीहरु सबैले नागरिक स्वतन्त्रता गुमाउन सुरु गरौँ ।’

ओमरले अघिल्लो महिना ‘काउन्सील अन अमेरिकन–इस्लामिक रिलेसन्स (सीएआईआर)’ को क्यालिफोर्निया विभागमा बोल्दै थिइन् ।

आइतबार जारी विज्ञप्तीमा ओमरले भनेकी छिन्, ‘हिंसात्मक अपराध र दक्षिणपन्थी उग्रवादी र श्वेत राष्ट्रवादीहरुको घृणाजन्य कार्यहरु यो देश र विश्वभरी बढिरहेको छ । अझै पनि यो भूमिको सबैभन्दा शीर्ष पदमा रहेको व्यक्तिले नै तिनलाई प्रोत्साहन गरिरहेको कुरा अस्वीकार गर्न सक्दैन ।’

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्