मोनोरेलको काम प्रदेश नम्बर १ मा धमाधम


 


इटहरी बैशाख ३
प्रदेश नम्बर १ मा विद्युतीय शहरी पारवहन मोनो रेल सञ्चालनमा आउने भएको छ ।
निजीस्तरबाट सञ्चालन हुन लागेको मनोरेल विराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरहरासम्म चलाइने छ । ३५ किलोमिटरको दूरी १० देखि १५ मिनेटमा यात्रा गर्न सकिने बताइएको छ । विराट मोनोरेल इन्टरनेशनल प्रालीले सञ्चालनमा ल्याउँदै छ । राजमार्गसँगै पोल निर्माण गरी माथिबाट मोनोरेल चलाइनेछ । कम्पनीका निर्देशक कोवित कार्कीले सरकारसँग सम्झौता गरि ३० वर्षसम्म निजीस्तरमा चलाइने जनाए ।

त्यसपछि उक्त परियोजनासमेत सबै किसिमको व्यवस्थापन सरकारलाई हस्तान्तरण गरिने छ । ‘हामीले प्राविधिक पक्ष केन्द्रित अध्ययन अनुसन्धान थालेका छौं, इञ्जिनियरिङ्ग प्रावधानअनुसार यसको कतिओटा स्टेशन हुनेछ, त्यो पछि तय गरिनेछ तर निकै कम समयमा मान्छेले आवजावत गर्न सकुन् भन्ने हो,’ उनले भने ।

डिपिआरको काम अन्तिम चरणमा पुगेको कार्कीको भनाइ छ । अहिले ३ भागमा काम शुरु गर्दैछौ कार्कीले भने । १० देखि १५ मिनेटमा तरहरादेखि मान्छे जोगवनीसम्म पुग्नेछन्,’ उनले भने ‘न ट्राफिकको समस्या न धूलोधूँवा, यो आफैंमा आकर्षक सवारी साधन हुनेछ ।’ उनका अनुसार शुरुमा ५ डब्बा भएको रेल ल्याइनेछ भने पछि आवश्यक्ताअनुसार थपिदै जानेछ । प्रालीले विराटचौकदेखि झापा–इलामसम्म, इटहरीदेखि कोशी ब्यारेजसम्म मोनोरेल चलाउने योजना रहेको कम्पनीका अध्यक्ष प्रमानन्द मेहेताले बताए । उनका अनुसार मोनोरेल तराई क्षेत्रमा मात्र सञ्चालन गर्ने प्राविधिक प्रावधान रहेकाले प्रदेश नम्बर १ को समथल क्षेत्रमा यसलाई चलाउने योजना बनाइएको हो ।

के हो मोनोरेल ?
मोनोरेल बिजुलीबाट चल्छ । यो बसभन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पाङ्ग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेलको लागत प्रतिकिलोमिटर २ देखि ३ अर्ब रुपैयाँ पर्छ ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्