विमानस्थलबाट अवैध नगदसहित पोल्याण्डका २ जना पक्राउ


 


काठमाडौं बैशाख २

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध नगदसहित २ जना पक्राउ परेका छन् । कतार एयरको फ्लाइट नम्बर क्यूआर ६४५ मार्फत काठमाडौंबाट कतारको दोहा जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

अवैध रुपमा लैजान लागिएको अमेरिकी डलर, युरो र नेपाली रुपैयाँसहित २ पोल्याण्डेली नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा माक्सिमिलियान वेंगलोक्सी र याकुव स्तेच्की छन् ।

प्रहरीले उनीहरुको साथबाट ३५ लाख २२ हजार ८ सय ९७ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको छ । उनीहरुको साथबाट १९ हजार ७ सय अमेरिकी डलर, १० हजार २ सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाउने तयारी भइरहेको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्