यसरी टुंगिदैछ नेकपाको एकता


 


काठमाडौं, बैशाख २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गृहकार्यलाई अन्तिम चरणमा पुर्याउनु भएको छ ।

गत बिहीवार राती चन्द्रागिरी हिल्स रिशोर्टमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलसहित आवासिय बैठक गर्नुभएका अध्यक्षद्वय ओली र दाहालले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सवै तहको एकताको टुंगो लगाउने गरी गृहकार्य तीब्र पार्नुभएको हो ।

सचिवालयका अधिकांश नेतासँग छुट्टाछुट्टै छलफल गर्नुभएका अध्यक्षद्वयले आज बरिष्ठ नेता माधवकुमार नेपालसँग एकताको बिषयमा छलफल गर्नुभएको छ । गत साता बिरामी पर्नुभएका कारण नेता नेपालसँग छलफल हुन पाएको थिएन । अध्यक्षद्वयले आज बालुवाटारमै बरिष्ठ नेता नेपालसँग एकताको बिषयमा छलफल गर्नुभएको स्रोतले बतायो ।

‘अध्यक्षद्वयले बरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको छ, अव ढिला नगरी एकताको निर्णय लिनुपर्नेमा सवै नेताहरु सहमत हुनुहुन्छ, अव एकता प्रक्रिया लम्बिदैन,’ भेटबारे बालुवाटारस्रोतले जनताटाइम्ससँग भन्यो । अस्पताल भर्ना भएपछि चिकित्सकको सुझावमा एक साता भेटघाट बन्द गर्नुभएका बरिष्ठ नेता नेपाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो ।

बालुवाटारमा प्रधानमन्त्री ओलीले समता स्कूललाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्दा अध्यक्ष प्रचण्डसँगै बरिष्ठ नेता नेपालसमेत सहभागी भएपछि नेतात्रयबीच कुराकानी भएको तथ्य बाहिरिएको थियो ।

यसअघि चन्द्रागिरी बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वैशाख ९ भित्रै बाँकी रहेका एकताको काम टुंग्याउने सहमति भएको थियो । चन्द्रागिरी बैठकपछि नेता नेपालसँग पहिलो छलफल भएको हो ।

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया लम्बिदा कार्यकर्ता पंक्तिमा निरासा छाउने अवस्था आएपछि अध्यक्षदव्यले एकताको कामलाई तीब्रता दिनुभएको छ । यसअघि नै अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय सदस्इ तथा बरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग परामर्श गरिसक्नु भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले जिल्ला र जनसंगठनको नेतृत्वको बिषयमा अन्तिम गृहकार्य गरिरहनु भएको हो ।

गत जेठ ३ मा केन्द्रमा एकता भएको नेकपाको जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनको एकता र नेतृत्व टुंग्याउने मूल काम बाँकी छ । त्यस्तै पोलिटब्युरो गठन र केन्द्रीय समितिका सदस्यको कार्य्विभाजन हुन सकेको छैन । यो काम सकेपछि पार्टी एकताको सन्देश लिएर जिल्ला तहमा जाने नेकपाको योजना छ ।

सोही योजनाअनुसार बैशाख ९ गतेभित्र एकताको काम सम्पन्न गर्ने अध्यक्षद्वय ओली र प्रचण्डको योजना रहेको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्