सामाजिक सञ्जालमा कर लगाऊन सरकारलाई सुझाब


 


काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन योजना बनाइरहेका वेला महालेखा परीक्षकको कार्यालयले पनि यसैलाई बल पुग्ने सुझाव दिएको छ । महालेखा कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आफ्नो वार्षिक प्रवेदनमा यस्तो सुझाब दिएको हो ।

महालेखाले फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालसँग पनि राजस्व असुल गर्न सरकारलाई सुझाव दिएको छ । महालेखाको ५६औँ प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजस्व असुल गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

भाइबर, फेसबुक मेसेन्जर, स्काइप, ह्वाटस् एप, बिच्याट, इमोजस्ता एप्लिकेसन आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने महालेखाको दाबी छ । महालेखा परीक्षक टंकमणि शर्माले यस्ता एप्लिकेसनले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्नेमा कुनै पनि सेवाप्रदायक संस्था दर्ता भएको नपाइएको बताए । यसलाई कानुनी दायरामा ल्याएर राजस्वको स्रोत बनाउनुपर्ने शर्माको भनाइ छ ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्