राष्ट्रघाती नागरिकता ऐन विरुद्ध विरोध सभा


 


काठमाण्डौँ । नागरिकता’ भू–राजनीति विरुद्ध अभियान ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ले नागरिकताका बहानामा नेपाल विरुद्ध सुरु भएको विदेशी षडयन्त्रका विरुद्ध जागरण अभियान सुरु गरेको छ। अभियानको बुझाईमा नेपालको तरल एवं कमजोर भू–राजनीतिको दुरुपयोग गरेर अमेरीकन यूरोपीयन र ईण्डियनहरुले चीनसंग लड्ने विदेशी फौज तयार पार्न, नेपाली महिलाहरुलाई बजारको वस्तुका रुपमा परिणत गर्न र नेपालको पारिवारीक एवं सांस्कृतिक मूल्य मासेर यसलाई पश्चिमाकरण गर्न ‘नागरिकता ऐन संसोधन विधेयक’ छलफलमा अघि बढाईएको छ।

काठमाडौंको गौसलामा २०७५ चैत्र २८ गते आयोजना गरिएको खुला कार्यक्रममा अभियानको केन्द्रिय सदस्य बाबुराम थापाले ईण्डियासंगको सिमाना खुला राखेर जन्मको आधारको नागरिकताको आधार बर्ष २०४६ सालबाट बढाएर २०७२ साल असोज ३ गतेसम्म तानिएको भन्दै यो नेपालमा ईण्डियनहरु भर्ने योजना भएको बताउनु भयो। नेपालमा अब जनता जाग्ने बेला आएको र अब जनताले वास्तविक न्यायको लागि लड्नु पर्ने बेला आएको कुरा बताउनुभएको छ। अहिलेको भ्रस्ट नेताले देशलाई उन्नति प्रगति गर्न नसक्ने जनाउदै अब नेपाली जनताले अन्यायको बिरुद्दमा लड्नु पर्ने बताउनु भएको छ।

यसैगरी अभियानको केन्द्रिय सदस्य नारायण शर्माले गृह मन्त्रलायको चिठीको भरमा नागरिकता बाड्न खोज्नु आपतिजनक रहेको बताउनुभएको छ। नेपाल सरकारको यस्तो कार्यले आउने दिनमा नेपालको अस्तित्व संकटमा पर्ने बताउनुभएको छ। नेपालीहरुलाई वैदेशिक रोजगारीको गुलियो विष देखाएर बाहिर निकाल्ने खालि ठाउँ विदेशी नागरिकहरुले भर्ने योजनामा ‘नागरिकता ऐन संसोधन विधेयक’ अघि बढाईएको कुरालाई जोड दिनु भयो।

संसदीय समितिमा छलफ भैरहेको ‘नागरिकता ऐन संसोधन विधेयक’ नेपाली महिला, नेपाली संस्कृति र समाजलाई ध्वस्त पार्ने विदेशी डिजाईनमा आएको तथ्यमा जोड दिंदै केहि एनजिओकर्मि, विदेशी जासुस र विदेशी दूताबासको तलबमा काम गर्ने कुतत्वहरुले महिलाहरुलाई बजारमा बेचिने माल बनाउन खोजेको, श्रीमान र श्रीमतिका विचमा द्वन्द गराएर पारिवारीक संरचना खल्बल्याउन खोजेको, बाबुको पहिचान खोल्न नपर्ने घृणित प्रावधान राखेर महिलाहरुको छबि बिगार्ने र बच्चाहरुको मनोविज्ञानलाई विकृत बनाउन खोजेको तथा विदेशमा विवाह गरेका महिलाहरुका सन्तानले नेपाली नागरिकता पाउनु पर्ने भनेर राष्ट्रियताको मर्मलाई मार्न खोजेको दाबि गर्दै यो नेपालको संस्कृति र सभ्यतामाथि पश्चिमाहरुको हमलाको एउटा हिस्सा भएको बताउनु भयो।

अभियानका केन्द्रिय सदस्य कमल वाईवाले ‘नागरिकता ऐन संसोधन विधेयक’ एउटा खतरनाक विदेशी प्रोजेक्ट हो भन्दै विदेशी ज्वाईंलाई नागरिकता दिनु पर्छ भन्ने कुरा नेपालमा सिआईए, ईण्डियन र यूरोपीयन देशहरुका लडाकुहरुलाई भित्र्याएर तिब्बत विभाजनको योजनामा विदेशी फौज निर्माण गर्ने मोडेल भएको दाबि गर्नु भयो। उहाँले देशको सार्वभौमिकता, भू–राजनीतिक संवेदनशिलता, सामाजिक मूल्यहरु, संस्कृति र देशको क्षमतालाई उपेक्षा गरेर मानिसको मनोविज्ञानसंग खेल्नेहरु विदेशीहरुबाट परिचालित अपराधिहरु हुन् भन्नु भयो। विदेशीका हातमा बेचेका तत्वहरुले नेपालीहरुलाई अल्पमतमा पार्न गरिरहेको षडयन्त्रका विरुद्धख आम नेपालीहरु एक हुनु पर्ने आवश्यकतामा जोड दिनु भयो।

जन्मको बहानामा ईण्डियन, तिब्बति शरणार्थि, रोहिंगा, भुटानी लगायत सबै विदेशीहरुलाई नागरिकता दिने प्रयास सुरु भएको बताउँदै उहाँले नेपाललाई सिरीया बनाएर यहाँ फौज उतार्ने योजना अघि बढेको भन्दै उहाँले यसका विरुद्धमा आम नेपालीहरु एकजुट नभए देश नराम्ररी धरापमा पर्ने कुरामा संका नभएको बताउनु भयो। कार्यक्रमको सञ्चालन अभियानका उपाध्यक्ष रामबहादुर थापाले गर्नु भएको थियो। उपाध्यक्ष थापाले यो अभियान नियमित रुपमा जारी रहने जानकारी गराउनु भएको थियो।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्