भाजपाको प्रचार गरेको भन्दै ‘नमो’ च्यानलमाथि निगरानी गर्न आदेश


 


नयाँ दिल्ली। भारतीय निर्वाचन आयोगले टेलिभिजन च्यानल ‘नमो’ले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै नमो टिभीका सामग्रीमा निगरानी गर्न आदेश दिएको छ। नमो टेलिभिजनले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण तथा भारतीय जनता पार्टी (भाजपा) समर्थित सामग्री प्रसारण गर्दै आएको थियो । यसलाई निर्वाचन आयोगले ‘आचारसंहिता उल्लंघन’ भनेको हो ।

आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई कुनै पनि चुनावी सामग्री प्रमाणित नगरी प्रसारण नगर्न आदेश दिएको छ । नमो टिभीमा प्रसारित सामग्री आफ्नो अनुमति बिना नै प्रसारण भएको पुष्टि दिल्ली निर्वाचन आयोगले गरेको थियो । नमो टिभी एक राजनीतिक पार्टीबाट प्रायोजित रहेकाले यसका सामग्रीमा नियमन गर्नुपर्ने निर्वाचन आयोगको भनाइ छ ।

अनुमति नलिई अहिले प्रसारण भइरहेका सामग्री तत्काल रोक्न पनि आयोगले निर्देशन दिएको छ । यो टेलिभिजन विरुद्ध कांग्रेस र आम आदमी पार्टीले चुनाव आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्