सूडानमा सैन्य ‘कू’, राष्ट्रपति पक्राउ , दुई वर्षपछि चुनाव गराउने


 


तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

सुडानका रक्षामन्त्री अहमद अवाद इब औफले सरकारी समाचार च्यानलमा सेनाले दुई वर्षपछि चुनाव गराउने निश्चय गरेको बताएका छन् ।

यसका साथै देशमा तीन महिनाको संकटकालको घोषणा गरिएको छ । सन् १९८९ देखि नै सूडानमा राज गरिरहेका बशीरविरुद्ध केही महिनादेखि लगातार प्रदर्शन भइरहेको थियो ।

रक्षामन्त्री इब औफले आफ्नो बयानमा भनेका छन्, ‘एक रक्षामन्त्रीको हैसियतले म देशमा संकटकालको घोषणा गर्दछु र सरकारका मुखियालाई सुरक्षित स्थानमा हिरासतमा राखिएको छ ।’

उनले भने, ‘देश कुप्रबन्धन, भ्रष्टाचार र अन्यायको शिकार थियो ।’ उनले हत्या र हिंसाका लागि पनि माफी मागे ।

यसैबीच प्रदर्शनलाई संगठित गर्ने प्रमुख गुटले सैन्य कू पश्चात् पनि बिहिबार प्रदर्शन जारी राख्ने घोषणा गरेका छन् ।

यो खबर सार्वजनिक भएलगत्तै राजधानी खार्तूममा सेना मुख्यालयका अगाडि थुप्रै दिनदेखि प्रदर्शन गरिरहेको भीडमा खुसीको लहर छायो ।

मानिसहरुले सिपाहलाई अँगालो हाले र कवच राखिएको वाहनमा चढे । सरकारी एजेन्सी सूना नेका अनुसार सूडानको गुप्तचर एजेन्सीले उनीहरु सबै राजनीतिक बन्दीलाई रिहा गर्न लागेको बताएका छन् ।

इन्टनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले बशीरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि सूडानको पश्चिमी इलाका दारफुरमा युद्ध अपराधलाई संगठित गरेको र मानवाधिकारी उल्लंघनको आरोप छ ।

बिहिबार बिहान खार्तूमस्थित रक्षामन्त्रालयको विशाल परिसरमा सेनाको गाडी आउन सुरु भएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार यसै इलाकामा सेनाको मुख्यालय पनि छ र बशीरको नीजि निवास पनि ।

केहीबेर पछि सरकारी टिभी र रेडियो प्रसारण बन्द भयो र सेनाले एउटा सन्देश दिने घोषणा गर्यो ।

यसैबीच हज्जारौं प्रदर्शनकारीले खातूममा एक र्याली निकालेको छ जसमा नारा थियो – ‘सैन्य ‘कू’ भयो, हामीले जित्यौं ।’

प्रदर्शन गर्ने प्रमुख गुट सूडानीज प्रोफेशनल्स असोसिएशन (एसपीए) ले सैन्य कूविरुद्ध बयान दिएका छन् ।

बयानमा भनिएको छ, ‘सेनाले कूको घोषणा गरेको छ तर त्यसमा त्यही अनुहार र संस्था छन् जसविरुद्ध हाम्रा महान जनताले विद्रोहकामे बिगुल फुेकेका थिए ।’

एसपीएले प्रदर्शन जारी राख्ने घोषणा गरेको छ ।

एक पूर्व सेना अधिकारी ओमर अल बशीर सन् १९८९ मा सैन्य कू पश्चात् सत्तासिन भएका थिए ।

उनको शासनकालमा सूडानले भयंकर गृहयुद्ध झेल्यो । सन् २००५ मा दक्षिण् सुडानमा गृहयुद्ध समाप्त भयो र सन् २०११ मा यो एउटा नयाँ देश बन्यो ।

तर देशको पश्चिमी हिस्सा दारफुरमा अर्को एउटा गृहयुद्ध सुरु भयो । बशीरमाथि युद्ध अपराध गराएको आरोप लाग्यो ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्