प्रधानमन्त्री‍ निवास किनबेचबारे सरकारले के भन्यो ?


 


काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिस अनुसार जग्गा किनबेचमा रोक लगाइसकेको बताए ।

मन्त्री बास्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल ठगिएकोसमेत दाबी गरे । मन्त्री बास्कोटाले भने, ‘प्रम निवासको जग्गा रोक्का राख्ने निर्णय भइसकेको छ । विष्णु पौडेल त ठगिएका रहेछन् । जग्गा परेछ नक्कली ।’

‘सत्य तथ्य बुझेर सरकारले छोड्दैन’, नेकपाका महासचिव पौडेलले वक्तव्य जारी गरेको उल्लेख गर्दै मन्त्री बास्कोटाले भने, ‘दोषी देखिएको छ भने कोही उम्कन पाउँदैन । नेकपाको महासचिवले विज्ञप्तिमार्फत स्पष्ट पारिसक्नु भएको छ । उहाँ त फर्जी धन्दामा संलग्न भएको हैन नि । उहाँले थर्ड पार्टीबाट किन्नु भएको हो । उहाँ त ठगीमा पर्नु भएको हो नि ।’

जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएको समाचार बाहिरिएको थियो । उनले यसको जवाफ दिँदै आफुले कानुन अनुसार नै जग्गा खरिद गरेको स्पष्ट पारे ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद पौडेलले २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको बताएका थिए ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्