सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी


 


खोटाङ, चैत २८

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

संघीय समाजवादी फोरम खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने बताउनुभएको हो ।

‘राजनैतिक कारणहरु, मधेसी, आदिवासी जनजातीका मुद्दाहरु, महिलाका मुद्दाहरु, दलितका मुद्दाहरु, पिछिडिएका वर्ग र समुदायका मुद्दाहरु अहिले पनि सम्बोधन हुन बाँकी छ । त्यसलाई सम्बोधन गरेर जाने समझदारीमा हामी सरकारमा गएको हो,’ संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहनुभएका मन्त्री यादवले भन्नुभयो, ‘जुन कारणका लागि हामी सरकारमा समावेस भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्छ । त्यो निश्चित हो । तर, अहिले नै सरकार छाड्ने भन्ने छैन ।’ मन्त्री यादवले भन्नुभयो ।

मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको यादवले स्मरण गर्नुभयो । मन्त्री यादवले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्