मलेसियाका पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाह मन्सुर पक्राउ


 


एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ । पक्राउ पर्नु पहिले उनलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न भनी बोलाइएको थियो ।

तर, उनलाई पछि त्यहीँबाट पक्राउ गरिएको छ । उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत बर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो ।

रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो । उनका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो । आरोपित दुवै जनाले आरोप निराधार रहेको जनाउँदै यसको खण्डन गर्दै आएका छन् । सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तीको शुद्धिकरण तथा कर छलीबारे विभिन्न १७ मुद्दामाथि छानविन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजनाबारेको आरोपमा उनले मलेसियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३०० विद्यालयमा जोडिएको सौर्य उर्जा विना टेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिसन लिएको आरोप लगाइएको छ । उक्त टेन्डरका लागि पूर्व प्रधानमन्त्रीसमेतको अनुमति रहेको दावी गरिने गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्री नाजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्