इन्डोनेसियाविरुद्ध नेपालको सान्त्वना जित


 


काठमाण्डौँ, चैत २६

अपेक्षाअनुसारको नतिजा निकाल्न नसकेको नेपालले ओलम्पिक छनोट अन्र्तगत दोस्रो चरणको अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध जित निकालेको छ । पहिलो पटक आमनेसामने भएको नेपालले इन्डोनेसियाविरुद्ध २–१ को जित निकालेको हो ।

म्यानमारस्थित बाष्टो रंगशालामा पहिलो हाफ १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफ सकिन केही मिनेट बाँकी रहँदा दोस्रो गोल गरेको हो । आजको खेलमा ३ खेलाडी परिवर्तन गरिएको थियो । गोलकिपर एन्जीला तुम्बाओ सुब्बाको स्थानमा अन्जली रानामगर, मनमाया लिम्बुको स्थानमा अमृता जोसी तथा हिरा भुजेलको स्थानमा कबिता धिमालले स्थान बनाएका थिए ।

नेपाल यसअघि भारत र घरेलु टोली म्यानमारसँग समान ३–१ को गोलअन्तरले पराजित भएको थियो । यसअघि कात्तिकमा भएको पहिलो चरणमा नेपालले उत्कृष्ट गर्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । बलियो प्रतिद्धन्दी म्यानमारसँग १–१ को बराबरी खेलेको नेपालले भारत र बंगलादेशसँग सोही नतिजा निकालेको थियो ।

दोस्रो चरणमा भने नेपालले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन् । पहिलो सहभागितामा दोस्रो चरणको यात्रा तय गरेको नेपाल ओलम्पिक छनोटको दोस्रो चरणबाहेक अघि बढ्न सकेन् । समुह ए बाट घरेलु टोली म्यानमार भारतलाई पराजित गर्दै तेस्रो चरणका लागि छनोट भएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्