एक वर्षमा ८ सय किलोमिटर पिच रोड बनाएँः मन्त्री महासेठ


 


काठमाडौं २५ चैत
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् । उनले भने,‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहाँसिक काम गरेका छौं । सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ ।’

मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे । उनले थपे,‘तीन तहका सरकार निर्माण भएका छन् । तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं । योजनाहरु बाँडफाँड गरेका छौं ।’

मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे । उनले थपे,‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ । सय भन्दा बढि पुलहरु बनेका छन् । ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ ।’

सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जनाए । उनले भने,‘रेलमार्गलगायतका कामहरु अघि बढेका छन् । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भैसकेको छ ।’

त्यस्तै, काठमाण्डु–केरुङ र रक्सौल–काठमाण्डुरेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए । उनले क्रस बोर्डर रेलवे निर्माणको काम भैरहेको बताए । यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउनेपनि उनले स्पष्ट पारे ।

समग्र यातायात क्षेत्रलाई व्यवस्थित् गर्नको लागि यातायात प्राधिकरण गठन गर्ने तयारी भैसकेको पनि उनले जनाए । मन्त्री महासेठले पानीजहाज कार्यालयको व्यवस्थापनसँगै रजिष्ट्रार नियुक्ती गरिएको बताउँदै भने,‘२÷३ चोटी सर्वे भैसकेको छ । गण्डकसम्म प्राविधिक टिम पुगेर फर्किएको छ ।’

सरकारको कामको बारेमा पार्टीभित्र कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘ईतिहासमा कसैले गर्न नसकेको काम यो सरकारले गरेको छ ।’ महासेठले वर्तमान सरकार कुनैपनि कोणबाट असफल नभएको जिकिर गरे । यद्धपी उनले विकास निर्माण र समृद्धि रातारात हुने कुरा नभएको भन्दै केही समय लाग्ने स्पष्ट पारे ।

निर्माण कार्यमा गलत गर्नेहरुलाई सरकारले कारबाही गरिरहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं । हामीले त्यो पुल बनाउनेगरि उपायपनि दिएका छौं । समस्याको समाधान गर्नुपर्छ । सरकार गम्भिर छ।’

त्यस्तै बर्दियाको जब्दीघाटको पुलबारे समस्याको समाधान गर्नेगरि आफूले कदम चालेको उनले स्पष्ट पारे । उनले भने,‘हामीले स्विस र भारतीय विज्ञहरुलाई बोलाएका छौं । उहाँहरु यही चैतभित्र आउँदैहुनुहन्छ । हामी उहाँहरुको राय लिएर अघि बढ्छौं ।’

काठमाण्डु कालिमाटीको पुलपनि आफूले गत शुक्रबारमात्रै अवलोकन गरेको मन्त्री महासेठले सुनाए । उनले भने,‘यो पुलमा प्राविधिक गल्ती भएको छ । जस्ताको त्यस्तै हामीलाई यो स्विकार्य छैन् । यसको सम्पूर्ण दोषी निर्माण व्यवसायी हो । कर्मचारीको दोष छैन् । पटक-पटक नबनाउन निर्देशन दिँदादिँदै पनि रातिराति बनाए ।’

पुलमा रहेको ‘डिफेक्टिभ पोर्सन’ तोड्ने र त्यसको भुक्तानी निर्माण व्यवसायीबाट नै लिनेपनि उनले जानकारी दिए । बाग्मतीको पुलपनि आफूले भिजिट गरेको बताउँदै सरकारले यसमा विशेष निगरानी गरेको उनको भनाई छ ।

मन्त्री महासेठले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेगरि काम गरिरहेको विश्वास दिलाए । उनले भने,‘हामी सबै बालबालिकालाई विद्यालय पठाउँछौं । कसैलाई पनि शिक्षाबाट बञ्चित गराउँदैनौं ।’ त्यस्तै उनले सरकारी चिकित्सकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । उनले भने,‘सरकारले जे निर्णय गरेको छ, त्यो सही छ ।’

फरक प्रसँगमा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्नेलाई कारबाही आफ्नो मन्त्रालयले गर्ने बताउँदै यसमा गृह मन्त्रालयको सहयोगी भूमिका रहने स्पष्ट पारे । उनले भने,‘यसमा कारबाही गर्ने अधिकार क्षेत्रमा गृहमन्त्रालय पर्दैन् । करार ऐनअन्तर्गत हामीले कारबाही गर्ने हो । हामीले गृहमन्त्रालयलाई आग्रह गर्यौं भने उसले सहयोग गर्ने हो ।’

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्