गृहमन्त्रीद्वारा राजीनामा


 


वासिङ्टन : अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन् ।

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन् । उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् । म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत छन् । उनी अमेरिकी कंग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व पनि हुन् ।

“जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,” निल्सनले लेखेको अवकाशपत्रमा उल्लेख छ । “अब नियुक्त हुने मन्त्रीलाई कंग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु ।”

अमेरिकी कानुनी व्यवस्थामा रहेका जटिलताका कारण आप्रवासीहरु सहजै अमेरिका प्रवेश गर्ने गरेको पूर्वमन्त्री निल्सनको धारणा छ । यही तथ्यलाई मनन गरी ट्रम्प प्रशासनले गृह विभागमा व्यापक फेरबदल गर्न चाहेको छ ।

राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन् । त्यहाँ अमेरिकी सीमा अधिकारीहरु र स्थानीय कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरुसँग गोलमेच बैठक समेत गरेकी थिइन् । ती बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर समेत निस्किएका थिए ।

सीमा क्षेत्रको भ्रमणपछि निल्सन वासिङ्टन फर्किएकी थिइन् भने राष्ट्रपति ट्रम्प क्यालिफोर्निया र नेभादातर्फ चुनावी सभामा सम्बोधन गर्न प्रस्थान गरेका थिए ।

निल्सनका नजिकका व्यक्तिहरुका अनुसार निल्सनले अरु विभागबाट पर्याप्त सहयोग प्राप्त गर्न नसकेको तथा कठिन आप्रवासन मामिलामा ट्रम्पका सहयोगी एवं सल्लाहकारबाट अनावश्यक दबाब दिएको अनुभव गरेकी थिइन् । आइतबार उनी ह्वाइटहाउस पुगेर राजीनामा बुझाएकी थिइन्, तर जानकारहरुका अनुसार यो राजीनामा स्वेच्छिक थियो ।

ट्रम्प प्रशासनमा टिक्न नसकेर राजीनामा गर्ने निल्सन पछिल्लो व्यक्ति हुन् । यो राजीनामासँगै ह्वाइट हाउसका महत्वपूर्ण पदहरु रिक्त भएका छन् । रक्षामन्त्री जीम म्याटिसले राजीनामा दिएपछि कार्यवाहक रक्षामन्त्रीको रुपमा प्याट्रिक शाहनानले जिम्मेवारी पाएका छन् । जोन केलीले गत वर्ष राजीनामा गरेपछि रिक्त भएको ह्वाइट हाउसको महत्वपूर्ण चिफ अफ स्टाफको पदमा माइक मल्भेनीले कार्यवाहक भएर काम गरिरहेका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्