पेट्रोलियम पाइपलाइन ओछ्याउन अब सात किलोमिटर मात्रै बाँकी


 


काठमाडौं नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्र पर्ने रूख काट्ने तथा पाइप जोडने काम तीव्र गतिमा भइरहेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव २ किलोमिटर भूभागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा दुई किलोमिटर पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।

तीव्र गतिमा बाँकी काम भइरहेकाले सो काम चाँडै सकिएर जमिनमुनि पाइप गाड्ने काम सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम शुरु हुने परियोजनाका इन्जिनियर शरदकुमार पौड्यालले बताए । बढीमा तीन महिनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जनाएको छ । सो क्षेत्रमा ६ हजार ५६३ रूख काट्ने काम तीव्र गतिमा भइरहेको छ । गत माघ ३ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार निकुञ्जभित्रका रूख काट्ने काम शुरु भएको छ । सो रूख काटेबापत नेपाल सरकारले निकुञ्जलाई रु. एक करोड ९५ लाख तिर्नुपर्नेछ ।

उता भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३ दशमलव ७ किलोमिटर भूभागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेसनले जनाएको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रूपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमिनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ । ०७२ मा नेपाल–भारतबीच भएको द्विपक्षीय सम्झौताअनुसार भारतीय आयल कर्पोरेसनले सो पाइप निर्माणको कार्य अघि बढाएको छ । पाइपलाइन विछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको चारवटा ट्यांकीको मर्मत, सम्भार द्रुतगतिमा भइरहेको छ ।

जमिनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालनमा आएपछि भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरूले लिएका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्