किसानले पाउँदै आएको अनुदान कटौती भएपछि चैते धान रोपाइ हुन छाड्यो


 


पर्वत — दशक अघिसम्म १५ रोपनीमा चैते धान लगाउने गरेका पैयुँ–४ का लालबहादुर प्रधानको खेत अहिले बाँझै छ । विगतमा यो समय हुवासको फाँटैभरि चैते धानको हरियाली हुन्थ्यो । प्रधानको खेतसँगै टमक्क मिलेको हुवासको अधिकांश क्षेत्र बाँझै देखिन्छ ।

पर्वतको पैयुँ गाउँपालिका–४ स्थित हुवासको फाँटमा चैते धान रोपाइँ गर्दै किसान । तस्बिर : अगन्धर/कान्तिपुर साविकको जिल्ला कृषि विकास कार्यालयले ६ वर्षअघि गरेको सर्वेक्षणमा जिल्लाभर सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुन्थ्यो । अहिले मुस्किलले सय रोपनीमा मात्रै खेती हुन्छ । चैते धानको उत्पादन घटै गएपछि तीन वर्षअघि कृषि कार्यालयले नै अनुदानको कार्यक्रम ल्याएको थियो ।

चैते धान लगाएबापत किसानलाई प्रतिरोपनी २ सय ५० रुपैयाँका दरले दिन सुरु गरेको अनुदान रकम पहिलो वर्ष कृषिले किसानका घरघरै पुगेरबाँड्यो । अनुदानले किसानलाई राहत भएको थियो । कान्तिपुरमा अगन्धर तिवारीले खबर लेखेका छन् ।

बिउ, मल र सिंचाइमा सहज भएपछि किसान हौसिएका थिए । तर, स्थानीय तह कार्यान्वयनमा आएपछि अनुदानले दिने बजेट काटियो ।तत्कालीन कृषिले सिफारिस गरी पठाएका कार्यक्रम र बजेट कटौती भएसँगै बर्सेनि पाउने भनिएको अनुदान किसानले पाएनन् । चैते धान लगाउने जाँगर पनि छाडे ।

पैयुँको अधिकांश क्षेत्र चैते धानका लागि उर्वर मानिन्छ । अनुदानले किसानलाई बानी पारेको थियो । दिँदै आएको अनुदान गाउँपालिकाले रोक्का गरेपछि किसान मर्कामा परेको बताउँछन् ।

पैयुंका कृषि संयोजक भबिलाल विकका अनुसार कृषिले सिफारिस गरे पनि गाउँपालिकालेबजेट दिन नमानेपछि चैते धानको अनुदान रकम दिन सकिएन ।‘कार्यक्रम त थियो,’ वरिष्ठ प्राविधिक सहायक विकले भने, ‘गाउँपालिकाले रकम नदिएपछि बाड्न सकेनौं ।’

प्रोत्साहन अनुदान बाहेकका अरू कार्यक्रम भए पनि किसानले कागजात पुर्‍याउन नसक्दा कतिपय अरू सहुलियतका कार्यक्रमसमेत सञ्चालन हुन नसकेको उनले बताए । अघिल्लो वर्ष कृषिमा ६० लाख बजेट विनियोजन गरेको पैयुंले यो वर्ष ३५ लाख मात्रै रकम छुट्याएको छ ।

पैयुं गाउँपालिकाअन्तर्गतका भोर्ले, सरौंखोला, हुवास, त्रिवेणी, बेउलीबास र टकलाकका किसानले चैते धान लगाउँछन् ।यी साविकका छुट्टाछुट्टै गाविस हुन् । अनुदान कार्यक्रम सुरु भएको वर्ष फाँच लाख रकम वितरण गरिएको थियो । सोही कार्यक्रमको अनुमान गरेर कृषि ज्ञानकेन्द्र र सम्बन्धित स्थानीय तहका कृषि शाखाले कार्यत्रम बनाए पनि स्थानीय तहले त्यस्तो अनुदान दिन मानेका छैनन् ।

अघिल्लो वर्षदेखि वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि कृषिमा अनुदान घटेको हो । ‘हामीले कार्यक्रम बनाएर स्थानीय तहमा पठाएका थियौं,’ कृषि ज्ञानकेन्द्र प्रमुख वासुदेव रेग्मीले भने, ‘स्थानीय तहमा कृषिलाई उपेक्षा गरियो । दक्ष कर्मचारी अभावले पनि यस्तो भएको हो ।’

स्थानीय तहको कृषि संयोजक कम्तीमा अधिकृत स्तरको हुनुपर्नेमा सामान्य जेटिएको भरमा कार्यक्रम बनाउँदा वास्तविक किसान मर्कामा परेको उनले बताए ।जिल्लामा सबैभन्दा बढी चैते धानको खेती पैयुंमा हुन्छ । पैयुंबाहेक फलेवास, कुश्मा र जलजलाका केही क्षेत्रमा यो धान फल्छ ।

किसानले सिएच–४५, चैते–२, चैते–४ र चैते–६ जातको धान लगाउँछन् । यीमध्ये सिएच–४५ बढी फल्ने जातमा पर्छ । यसको उत्पादन प्रति हेक्टर साढे ३ टन हुने प्राविधिकहरू बताउँछन् ।कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार ७० हेक्टरमा वर्षे र २ हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ ।

बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैते धानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि खाद्यान्न आयात प्रतिस्थापनको लक्ष्य विफल भएको ज्ञानकेन्द्रप्रमुखरेग्मीले बताए ।

अनुदान रोकिएपछि पकेटचैते धानमा दिने भनिएको अनुदान गाउँपालिकाले रोकेपछि कृषि ज्ञानकेन्द्रले पैयुंमै ‘चैते धान पकेट क्षेत्र’ घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पर्वत र बाग्लुङमा फरक–फरक खेतीका पकेट र ब्लक छनोट गर्ने क्रममा हुवास क्षेत्रलाई चैते धानको ब्लक क्षेत्र घोषणा गरिएको ज्ञानकेन्द्रले जनाएको छ ।

१० वर्षे योजना अन्तर्गत पहिलो वर्ष १० हेक्टर क्षेत्रफलमा चैते धान लगाउने जमिन छनोट गरेर ५ लाख अनुदान वितरण गर्न लागिएको ज्ञानकेन्द्र प्रमुख रेग्मीले बताए ।

‘पहिलाको कार्यक्रम क्यान्सिल भएपछि हामीले नयाँ योजना ल्याएका हौं,’ उनले भने, ‘यसले चैते धानको उत्साह फेरी बढाउन सकिन्छ ।‘ चालु वर्ष मलबीउ, सिँचाइ, भण्डारण लगायत आवश्यकताका आधारमा खर्च गर्नेगरी अनुदान वितरण गरिने उनले बताए ।

चैते धान उत्पादन बढाउन सुरु पकेट कार्यक्रम सञ्चालनका लागि स्थानीय टंक भुर्तेलको अध्यक्षतामा पैयुँ चैते धान उत्पादन समिति गठनसमेत भएको छ । यो कार्यक्रम सफल भए आगामी वर्ष अरु क्षेत्रफल र स्थान थप गरी चैते धानको उत्पादन बढाइने ज्ञानकेन्द्र पर्वतले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्