झापा – मोरङमा नागरिकता लिनेको लर्को


 


झापा नागरिकताका विषयमा सरकारले गरेको पछिल्लो निर्णयपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको लाइन लाग्न थालेको छ । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

सो निर्देशनलगत्तै तराईका जिल्लाहरूमा नागरिकता लिनेको लर्को नै देखिन थालेको छ । झापा, मोरङ लगायतका तराईका जिल्लामा नागरिकता लिने दैनिक बढ्न थालेका छन् । जन्मसिद्ध नेपाली नागरिक प्रमाणपत्र भएका छोराछोरीलाई वंशजको नागरिकता दिन सुुरु गरेपछि जिप्रका मोरङमा नागरिकता बनाउन आउनेहरूको घुुइँचो बढेको हो । कार्यालयले बुधबारदेखि त्यस्तो नागरिकता दिन सुुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट बुुधबार पहिलोदिन दुुइवटा, बिहीबार २ सय ३७ वटा तथा शुुक्रबार २ सय २५ वटा नागरिकता वितरण गरेको सहायक प्रमुुख जिल्ला अधिकारी एंव प्रवक्ता उमेश पाण्डेले बताए । उनका अनुसार, दैनिक २ सय २५ जनाले त्यसप्रकारको नागरिता लिन थालेका छन् । नागरिकता बनाउन आउनेको संख्यामा उल्लेखनीय रूपमा बढेपछि कर्मचारीको संख्यासमेत बढाउनुपरेको सहायक प्रजिअ पाण्डेले बताए । कार्यालयबाट यसअघि वैवाहिक र वंशजका आधारमा दैनिक ६० देखि ६५ वटा नागरिकता वितरण हुँदै आएको थियो ।

०७० साल चैत २० गतेदेखि यस्तो नागरिकता वितरणमा रोक लगाइएको थियो । पाँच वर्षपछि पुनः नागरिकता दिन थालिएपछि इलाका प्रशासन कार्यालहरूमा घुुइँचो लागेको छ । नागरिकता पाउनका लागि आमा र बुवाको नेपाली नागरिताको प्रमाणपत्र संलग्न आवश्यक हुुन्छ ।

नागरिकता बनाउन लाइनमा बसेका विराटनगर–८ का मनिष चौहानले उमेर पुुगे पनि नेपाली नागरिकता नहुुँदा आफ्नो वृद्धि विकास रोकिएको बताए । नागरिकता नहँुुदा उच्च शिक्षाका लागि बाहिर पढ्न जान नपाएको, सरकारी जागिर खान नपाएको र जग्गा खरिद गर्न नपाएको तथा अंशवण्डामा समेत समस्या हुुने गरेको सुनाए । नागरिकता बनेपछि सबै समस्या हटेर जाने उनको भनाइ छ ।

०६४ सालको संविधानसभाको निर्वाचन अघि खटिएको टोलीबाट देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आधारमा नागरिता पाएका थिए । ती नागरिकता पाएकाहरूका सन्तान बालिग भए पनि नागरिताबाट वञ्चित थिए । जिल्ला प्रशासन कार्यालयबाहेक इलाका प्रशासन कार्यालय रंगेलीका साथै इलाका प्रशासन कार्यालय उर्लाबारीबाट पनि नागरिकता वितरण गरिँदै आएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्