विप्लवका दुई कार्यकर्ता चितवनबाट पक्राउ


 


चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका थप दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भरतपुर महानगरपालिका कैलाशनगरबाट शुक्रबार दिउँसो १ बजे दुई जना पक्राउ परेका हुन्।

विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने सरकारको निर्देशनअनुसार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए। उनीहरु विप्लव समूहका भ्रातृ संगठनका अध्यक्षलगायतका पदमा सक्रिय रहेको स्रोतले बताएको छ। उनीहरुको परिचय खुलाइएको छैन। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले परिचय गोप्य नै राखिएको प्रहरीको भनाइ छ।

सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विभिन्न मितिमा चितवनबाट विप्लव समूहका ११ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेका नौ जनामाथि म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी रेग्मीले बताए।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्