अवैध डलरसहित पक्राउ परेका श्रेष्ठ एसएसपी भण्डारीको रोहबरमा रिहा !


 


काठमाडौं – त्रिभुवन विमानस्थलमा अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठ रिहा भएका छन् । शुक्रवार दिउँसो ठूलो परिणाममा अवैध डलर बोकेर थाईल्याण्ड जाँदै गरेका श्रेष्ठलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएको केहीबेरमा महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) सन्दिप भण्डारीको रोहवरमा श्रेष्ठ छुटेको बताईएको छ ।

शुक्रवार बिदामा बसेका एसएसपी भण्डारी श्रेष्ठ पक्राउ परेको थाहा पाएपछि एयरपोर्ट पुगेका थिए । प्रहरी बरिष्ठ उपरीक्षक भण्डारीको रोहवरमा व्यापारी श्रेष्ठ छुटेको जानकारी दिँदै विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘सर, नै आएर मेरो रोहबरमा छाडिदेउ भनेपछि हाम्रो के लाग्छ र ?’

त्रिभुवन विमानस्थलमा कफि शप तथा किराना पसल सञ्चालन गर्दै आएका श्रेष्ठको साथबाट प्रहरीले १५ हजार अमेरिकी डलर, १३ सय ८० युरो, २१ हजार ६ सय थाई भाट, ८ सय चिनियाँ युआन बरामद गरेको थियो ।

विदेश जानको लागि पासपोर्टमा छाप लगाएर मात्र १ हजार पाँच सय अमेरिकी डलर बोक्न पाइन्छ । १ हजार पाँच सय डलरभन्दा धेरै डलर बोकेको फेला परेमा त्यो स्वतः अवैध ठहरिन्छ ।

अवैध डलर बोकेको सुचना पाएपछि त्रिभुवन विमानस्थलमा कार्यरत सादा पोशाकका प्रहरीले उनलाई मध्यान्ह ३ बजेतिर अध्यागमन डेस्कबाट नियन्त्रणमा लिएका थिए ।

तर, एसएसपी भण्डारी विमानस्थल पुगेर उनलाई मध्यान्ह ४ बजेतिर छाडेको विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिएका छन् ।

अवैध डलरसहित त्रफाउ परेका श्रेष्ठलाई छाडिएकोबारे प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा प्रहरी बरिष्ठ उपरिक्षक भण्डारी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्