गोरखामा स्थानीय र बाँदरविच हरेकदिन ‘ग्याङ फाइट’, एउटा बाँदर समातियो
गोरखा । फुजेलमा बाँदर आतंक बढेपछि प्रहरी सहित स्थानीयले गस्ती शुरु गरेका छन् ।
गण्डकी गाउँपालिका ३ र ४ मा बाँदर धपाउन भन्दै ताङलीचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित स्थानीयबासीले शुक्रबारबाट गस्ती शुरु गरेका हुन् । गस्तीमा हिड्ने अधिकांशले हातमा लठ्ठी र गुलेली बोक्छन् ।
‘समूहमा बाँडिएर आज पन्तारी गाउँको सिरानबाट बादर धपाउँदै तल तिर झर्यौं,’ स्थानीय बिष्णु पन्तले भने, ‘बाँदरको हुल देखेपछि कराउने, ढुङ्गा हानेर तर्साउने र सम्भव भए समाउने गरेका छौं ।’ शुक्रबार एउटा बाँदर समातिएको छ ।
‘बादरहरु घरघरै आएर दुःख दिनुका साथै मानिसमाथि आक्रमण गर्न थालेको स्थानीयबासी बताउँछन् । ‘केही दिन अघि मात्र एक जनालाई गम्भीर घाइते हुने गरी पिट्यो’ उनले भने, ‘टाउको र अनुहारमा मात्र आक्रमण गर्दाेरहेछ ।’
फुजेलबासीका अनुसार हालसम्म बाँदरले करिव २० जनालाई पिटेर घाइते बनाएको छ । पुरुष भन्दा बढी महिला र केटाकेटीलाई आक्रमण गरेको गरेको छ । बाँदर आतंक बढेपछि विद्यार्थीहरु बिद्यालय जान डराउने गरेका छन् ।
‘एक्लै हिड्न हुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्यो गर्यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,’ स्थानीय अर्जुन अम्गाइले अनलाइनखबरसँग भने । भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको उनले सुनाए ।
बाँदरले करिव २० जनालाई पिटेर घाइते बनाएको छ । पुरुष भन्दा बढी महिला र केटाकेटीलाई आक्रमण गरेको गरेको छ ।
बाँदर आतंकले करिव १३ सय घरधुरी प्रभावित भएपछि शुक्रबारबाट गस्ती थालिएको अम्गाइले बताए ।
गस्तीका लागि १५/२० जनाको समूह बनाएर विभिन्न ठाउँमा खटाइएको छ । ‘गाउँतिर जाने समूहमा थोरै मान्छे भएपनि घना जंगलमा जाने समूहमा करिव ५० जना हुन्छौं,’ उनले भने ।
स्थानीयबासीले गस्ती गर्नुपूर्व सहयोगका लगि प्रशासनलाई समेत खवर गरेका थिए । प्रशासनले पनि प्रहरी टोली नै खटाएको छ । बाँदरलाई तर्साएर गाउँबाट लखेट्ने उद्देश्यले गस्ती शुरु गरिएको स्थानीयबासी बताउँछन् ।
प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार