उर्लाबारीमा ८२ फिट सडक खाली गराउने अभियान
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकालाई व्यवस्थित गराउन ८२ फिट सडक खाली गराउने अभियान सुरु भएको छ ।
बिहीबारदेखि उर्लाबारी क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको मावा खोलादेखि सुनझोडा खोलासम्म दायाँ बायाँ ८२ फिट खाली गराउने अभियान सुरु भएको हो ।
सडक अतिक्रमण हटाउँदै उर्लाबारीलाई व्यवस्थित शहर बनाउनका लागि ८२ फिट सडक खाली गराउने अभियान सुरु गरेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए । ८२ फिटभित्रका सम्पूर्ण संरचना हटाइने उनले बताए । ‘कोहीको भत्काउन कोहीको नभत्काउने भन्ने हुँदैन’ मेयर फागोले भने–‘सानालाई ऐन र ठूलालाई चैन हुने काम हुँदैन । ’
त्यस्तै, ८२ फिट खाली अभियानका संयोजक एबं उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाले सडक अतिक्रमण रोक्न ८२ फिट सडक खाली अभियान चलाइएको बताए । अभियानको क्रममा उर्लाबारीको मावा खोलादेखि सुनझोडासम्म भएका टहरा, बोर्डलगायत सम्पूर्ण संरचना हटाउने उनले जानकारी दिए । बस, ट्याक्सी र सफारी स्टेण्डलाईसमेत ब्यवस्थित बनाउने उनले जानकारी दिए । ८२ फिटभित्रको सार्वजनिक शौचालयबाहेक सम्पूर्ण संरचना हटाउने उनको भनाई छ ।
सडक खाली गराउने अभियानका उर्लाबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, ४ का वडाध्यक्ष लक्ष्मी धिमाल, ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, ६ को वडाध्यक्ष चिन्तामणि पौडेल, सामाजिक ब्यक्तित्व, संचारकर्मी, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार