ज्ञानेन्द्र शाह र भारतिय राजदूतको एउटै होटेलमा वास !
काठमाडौं । तराई दर्शनमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय राजदूतलाई भेटेको वा नभेटेको भन्ने विषयले नेपालको कूटनीतिक र राजनीतिक क्षेत्र हिजोआज खुब तातेको छ ।
तराई मिसनमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहसंग भारतीय राजदूत मन्जिव सिंह पुरीले जनकपुरस्थित सीताशरण होटेलमा गोप्य भेट गरेको सरकारी संयन्त्रहरूले सूचना दिएपछि मन्त्रिपरिषद बैठकमै यो विषयले प्रवेश पाएको स्रोत बताउछ ।
जनकपुरको शीताशरण होटलको दोस्रो तलामा बसेका पूर्व राजा ज्ञानेन्द्र शाह र २०७५ चैत ३ गते आइतवार सोही होटेलको छैठौं तलामा भारतीय राजदूत पुरीले एक रात बिताउनुको विषयलाई राजा र राजदूत भेटेको भन्ने गलत सूचना सरकारलाई दिइएको होटेल स्रोत बताउछ । भारतीय राजदूतावास स्रोतले भने, पूर्वराजा शाहसंग भारतीय राजदूत पुरीले भेटघाट गरेको भन्ने चर्चालाई इन्कार गरेको छ । जनकुपर–जयनगर निर्माणको अवलोकन गर्नका लागि २०७५ चैत ३ गते आइतवार जनकपुर पुगेका थिए । एकरात सो होटेलमा बास बसेर भारतीय राजदूत पुरी २०७५ चैत ४ गते नै काठमाडौं फर्किएका थिए ।
जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन तराइका आफ्ना शुभ चिन्तक र तराइमा बसोबास गर्ने समुदायसंग भेटघाट संवादमा गरेका थिए ।
जनकपुरको ३ दिने बसाईपछि पूर्वराजा ज्ञानेन्द्र झापाको तीन आलीस्थित हिमालय टी स्टेट पुगेका थिए । झापा बसाईको क्रममा त्यस क्षेत्रका मठमन्दिरमा पूजापाठ गर्नुका साथै स्थानीय आफ्ना शुभ चिन्तक राजतन्त्रपक्षधरहरूसंग भेटघाट गरेपछि पूर्व राजा ज्ञानेन्द्र इलाम र पाँचथरको भ्रमणका २०७५ चैत १७ गते पहाडतिर उकालो लागेका छन् र स्थानीयहरूसंग भेटघाटमा व्यस्त छन् । उनी अझै दुई सातापछि मात्र काठमाडौं फर्किने स्रोतले जनाएको छ ।
केही समयदेखि झापाको दमकमा मुकाम बनाएर बसेका पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ चैत १७ गते आइतबारदेखि इलाम र पाँचथर जिल्लाको २ दिने भ्रमणमा उक्लिदैछन् । २०६५ मा राजतन्त्र समाप्त गरिएपछि पूर्व राजा ज्ञानेन्द्रले पहाडी जिल्लाको भ्रमण गरेको यो पहिलो हो । तराईका जिल्लाहरूमा भने पूर्वराजा ज्ञानेन्द्रले नियमितरुपमा नै भ्रमण गरिरहेका छन् ।
चैत १८ गते सोमबार पूर्वराजा ज्ञानेन्द्र पाँचथरको फिदिमस्थित गढीमा रहेको गढी मन्दिरमा पुगेर दर्शन तथा आराधना गर्नेछन् । सो दिन वेलुका उनी त्यहाँस्थित होटल मानश्रीमा बस्नेछन् । त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रले २०७५ चैत १९ गते मंगलबार इलाम फर्किएर त्यहाँस्थित माईस्थान भगवतीको दर्शन तथा आराधना गर्नेछन् भने अर्को दिन चैत २० गते बुधबार पनि उनी इलाममा नै बस्नेछन् । यसरी पूर्वी पहाडका दुई जिल्ला इलाम र पाँचथरको भ्रमण पूरा गरी उनी चैत २१ गते अर्थात् बिहीबार मात्रै झापाको दमक फर्किने कार्यक्रम रहेको छ ।जनजातिहरूको बाहुल्यता रहेको पाँचथर र इलामलाई भ्रमणका निम्ति पूर्वराजा ज्ञानेन्द्र शाहले रोज्नुलाई अर्थपूर्ण मानिएको छ । (साँघु साप्ताहिक, चैत १८)
प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार