सरकारी चिकित्सक फेरि आन्दोलनमा, शुक्रबारदेखि देशभरका ओपिडी सेवा बन्द


 


काठमाडौँ । कर्मचारी समायोजन सूची सरकारी चिकित्सक संघको सहमति विपरित भएको भन्दै आउने शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने भएका छन् । कर्मचारी समायोजन अध्यादेश २०७५ मा आफूहरुलाई संघ अन्तगर्त राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकारसँग भएको सहमतिअनुसार नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारी चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकार र संघबीच भएको सहमति विपरित निर्णय भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघको आज भएको बृहत छलफलबाट चैत्र २२ देखि देशभरका ओपिडी सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

संघले देशभरको चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने भन्दै गत पुष २२ देखि आन्दोलन सुरु गरेको थियो । सरकारसँग पटक–पटक भएको वार्तामा चिकित्सकको भनाईअनुसार समायोजन हुने आश्वासन दिइएको भएपनि अहिले समायोजन सूची भने सहमतिअनुसार नभएको भन्दै चिकित्सकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्