पीडितका घर बनाउने प्रदेश सरकारको निर्णय


 


बारा चैत २० 

प्रदेश–२ सरकारले वर्षायाम अगाडि नै बारा र पर्साका हावाहुरीका पीडित परिवारलाई प्रि–फोव मोडलका घर बनाउने निर्णय गरेको छ । सरकारले गठन गरेको उद्धार तथा राहत व्यवस्थापन समितिको बैठकले करिब पाँच लाख रुपैयाँको लागतमा तीन कोठे घर निर्माण गर्ने निर्णय गरेको होे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको समितिको बैठकले चार महिनाभित्रमै एकैनासको प्रि–फोव मोडलको घर बनाउनका लागि कामको थालनीसमेत सुरु गरेको छ । आइतबार रातिको शक्तिशाली हुरीमा बारा र पर्साको आठवटा बस्तीका करिब १५ सय घर तहसनहस भएको प्रारम्भिक अनुमान छ । राहत र उद्धारका लागि प्रदेश सरकारले आफ्ना दुई जना राज्यमन्त्री रहने गरी हेल्प डेस्कको समेत स्थापना गरेको छ ।

यस्तै, हुरी प्रभावित क्षेत्रमा सोलार टुकी र सुधारिएको चुल्हो उपलब्ध गराउन प्रदेश सरकारले वैकल्पिक ऊर्जा केन्द्रलाई अनुरोध पत्र पठाएको छ । मन्त्री यादवका अनुसार केन्द्रले एक–दुई दिनमै सोलार टुकी र सुधारिएको चुल्हो उपलब्ध गराउने भएको छ । यसैबीच, हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि अस्थायी टहरा निर्माण सुरु गरेको छ । फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो । बाराको फेटा गाउँपालिकामा मात्रै चार सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्