आँधी प्रभावित तराईमा प्रचण्ड–देउवादेखि सीके राउतसम्म


 


बारा । बारा र पर्सामा आइतबार आएको हावाहुरीले व्यापक जनधनको क्षति भएपछि प्रभावितको अवस्था बुझ्न सो क्षेत्रमा नेताहरुको लर्को लाग्न थालेको छ ।

सोमबार प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, काँग्रेस उपसभापति विमलेन्द्र निधिलगायत पुगेकोमा मंगलबार नेकपा अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाले पीडित परिवारलाई भेटघाट गरी सहयोगको घोषणा गरेका छन् । मंगलबार वीरगंज स्थित नारायणी अस्पतालमा पुगेका अध्यक्ष प्रचण्डले हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका थिए ।

त्यसपछि बाराको फेटा गाउपालिका पुगेका प्रचण्डले पीडितको अवस्थाबारे जानकारी लिएका थिए । स्थानीय भलुही, भरवलीया र पुरैनीया लगायतका गाउँमा पुगेका उनले मृतक परिवारलाई पार्टीको तर्फबाट ५ लाख दिने घोषणा गरे ।

त्यस्तै देउवाले फेटा गाउँपालिका पुगेर कांग्रेसको तर्फबाट २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे । यस्तै जनमत पार्टीका संयोजक डा सिके राउतले सुवर्ण गाउपालिकाका पिडित परिवारहरुसँग भेटघाट गरेका छन् । उनले वस्तुअवस्था बुझेर राहत सामग्री वितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्