आजबाट खुल्यो मलेसिया रोजगारी


 


काठमाडौं : विगत साँढे १० महिना अघिदेखि बन्द रहेको मलेसिया रोजगारी सोमबारदेखि आंशिक रुपमा खुल्ने भएको छ । नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसियामा ठूलो संख्यामा कामदारहरु जाने भएपनि हाल कलिङ भिषा आएका सीमित कामदारहरुको लागि मात्र अन्तिम श्रम स्वीकृति खुल्ने भएको हो ।

नेपाल र मलेसियाबीच गत कार्तिक १२ गते भएको कामदार आदन प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना अनुसार सोमबारदेखि यसअघि कलिङ भिसा लागेका कामदारलाई मात्र अन्तिम श्रम स्वीकृति दिइने बैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार संघका महसचिव एवं प्रवक्ता नरेश गेलालले कलिङ भिषाको अन्तिम स्वीकृति दिने विषयमा बैदेशिक रोजगार विभागको पत्र संघले प्राप्त गरेको मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

केही समयअघि विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । त्यतिखेर कलिङ भिषा प्राप्त गर्ने कामदारको संख्या ९ हजारभन्दा बढी रहेको बताइएको थियो । तर हाल कलिङ भिषा आएका कामदारहरुको संख्या करिव ७ हजार रहेको अनुमान गरिएको महासचिव गेलालले जानकारी दिए ।

महासचिव गेलालले कलिङ भिषा प्राप्तहरुको अन्तिम स्वीकृतिको सहजीकरणका लागि संघमा सम्पर्क राख्न पनि व्यवसायीहरुलाई आग्रह गरेका छन् । संघले भिषाका लागि काठमाडौंस्थित मलेसियन दूतावाससंग समन्वय गर्ने जिम्मा लिएको श्रोतले जानकारी दियो ।

कलिङ भिषा पाएका कामदारलाई काठमाडौंस्थित मलेसियाली दूतावासले भिषा दिने गरेको छ । भिषाका लागि कामदार राहदानी लिएर आफैं दूतावास जाने छै्रनन् । दूतावासले नेपालस्थित मलेसिया भीएलएनले भिषा प्रक्रिया पुरा गरेपछि मात्रै भिषा दिने गरेको छ । सरकारले उक्त कम्पनी विरुद्ध जिल्ला अदालतमा मुद्धा लगाउँदा पनि कम्पनीले सरकारी भ्रमण, अध्ययन तथा पर्यटनका लागि जाने नेपालीलाई मात्र होइन स्वयं राजदूतको समेत भिषा प्रक्रिया पुरा गरिदिने गरेको थियो ।

एकजना कामदार जाँदा मलेसियाली रोजगारदाताको ६ हजार ३ सयदेखि ७ हजार ९ सय रिंगेटसम्म खर्च हुने गरेको छ । कार्तिकमा भएको द्विपक्षीय श्रम समझदारीमा रोजगारीमा मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ ।

नयाँ कामदार जान पाउने विषय भने अझै अनिश्चित रहेको छ । मन्त्रालयको भनाइ भन्दै मन्त्रीसँगको छलफलमा सहभागि व्यवसायीहरुका अनुसार नयाँ कामदारका लागि अझै एक महिना पर्खिनुपर्ने भएको छ । मलेसिया सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाएपछि मन्त्रालयले सूचीकृत हुन स्वास्थ्य संस्थाहरुलाई दश दिनको सूचना जारी गरेको पनि ५ दिन वितिसकेको छ ।

मलेसियाबाट पनि केही प्रतिनिधिहरु स्वास्थ्य संस्थाहरु निरीक्षण गर्न टोली आउने बताइएको छ । मन्त्रालय र मलेसियाको टोली सम्मिलित समुहले निरीक्षण गरेपछि स्वास्थ्य संस्थाको छनोट गरिने बताइएको छ । कलिङ भिषा पाएका कामदारहरुको स्वास्थ परीक्षण दश महिना अघि भएको हो । उनीहरु मलेसिया पुगेपछि हुने स्वास्थ्य परीक्षणमा असफल भएमा त्यसको जिम्मेवारी कस्को हुने भन्ने प्रश्न पनि संगै उठेको छ । यद्यपी यदि कामदार गन्तव्य मुलुकमा गएर स्वास्थ्य परीक्षणका कारण स्वदेश फर्किनु परेमा त्यसको क्षतिपूर्ति स्वास्थ्य संस्थाले दिनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्