बारा अपडेट प्राकृतिक विपत्ति २५ जनाको मृत्यु


 


बारा, चैत १७

आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा २५ जनाको ज्यान लिएको छ भने दर्जनौं घाइते घएका छन्। बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ।

फेटा गाउँपालिका–१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा एक बालक रहेका छन्। बालकको शव वीरगन्जको हेल्थ केयरमा राखिएको छ। यसैगरी अन्य स्थानमा पनि मानिसहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अहिलेसम्म २५ जनाको ज्यान गएको खवर आएको जानकारी दिनुभयो ।

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडकमा ढलेका रुख र पोलहरु पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा भुसका घर भत्किएका छन् । सबै घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्