नेपाली कांग्रेसले आफूलाई अपराधी भनेकोमा प्रचण्डले जनाए आपत्ति


 


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले केहि तत्वहरुले परिवर्तनलाई उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका भ्रमणको क्रममा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले ‘प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ’ भनेर निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सत्ताबाट निकालिएकाहरु इतिहासको मञ्चबाट ओझेल परेकाहरु परिवर्तनलाई उल्ट्याउन सक्रिय हुन थालेको टिप्पणी पनि गरे । राष्ट्रिय एकता र महत्त्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर र वद्नाम पार्ने गरि या नेपालीका बीचमा कायम भएको एकता विथोल्ने प्रयास भइरहेको पनि उनले दाबी गरे ।

निर्वाचनको समयमा तराई मधेस पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफूले ठूलो मेहनेत गरेको भन्दै उनले एकताका लागि गरिएको प्रयास नै गलत थियो भनी प्रश्न गरे ।

उनले भने, ‘के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौँ । ती कुराहरु गलत हुन् ?

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्