पर्यटक बसको ठक्करबाट पाँच जना भारतीयको मृत्यु, चालक फरार


 


उत्तर प्रदेश, १७ चैत – नेपालबाट गएको एक पर्यटक बसले भारतको उत्तर प्रदेशको पिलिभिटमा एक कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । उक्त घटना उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा शनिबार भएको थियो ।

सो बसमा रहेका नेपालबाट गएका केही यात्रुहरु समेत घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । सो बस प्रहरीले नियन्त्रणमा लिएको र चालक भने फरार रहेको समाचारमा जनाइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी, उनकी पत्नी ५४ वर्षीया मुन्नी बेगम, मन्सरीका जेठान ५५ वर्षीय जमील अहमद, जेठानकी पत्नी ४७ वर्षीया नसरिन बेगम र नसरिनका ज्वाईं २५ वर्षका आजम रहेको प्रहरीले जनाएको छ ।

पिलिभिटका प्रहरी अधिकृत योगेन्द्र कुमारले कार बरेलीतर्फ जान लाग्दा नेपालको पर्यटक बससँग ठक्कर खाएको, आगलागीसमेत भएको र खाल्डोमा परेको जनाएका छन् ।

प्रहरीका अनुसार बसमा रहेका ५ जना यात्रु पनि घटनामा सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्