नेकपाको ११ महिना अलमलमै बित्यो


 


काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको ११ महिना हुन लागेको छ । तर, अहिले सम्म पार्टीको एकीकरण प्रक्रिया पुरा हुन सकेको छैन । एकीकरण प्रक्रिया पुरा गर्न ११ महिनामा आधा दर्जनभन्दा बढी कमिटी गठन भएपनि एकीकरण प्रक्रिया पुरा हुन सकेको छैन । झन् पछिल्लो कार्यदल विघटन भएको एक महिना हुँदासमेत पार्टीको सचिवालयले एकीकरणमा जोड दिएको छैन । पार्टीको एकीकरणमा ढिलाई हुँदा नेकपाका ४ लाख ९८ हजार १ सय ६९ जना नेता तथा कार्यकर्ता कमिटी बिहीन बनेका छन् ।

तत्कालिन एमाले र माओवादीले जेठ ३ गते राष्ट्रिय सभागृहमा एकताको घोषणा गर्दै पार्टीका दुवै अध्यक्षले तीन महिनामा सबै तहमा एकता पूरा हुने दाबी गरेका थिए । तर अहिलेसम्म प्रगति भने शून्य रहेकोछ । एकीकरणमा ढिलाई हुनुको मूल कारण पार्टीको शिर्ष नेतृत्व नै रहेको नेताहरु बताउँछन् । देशभर करिब ५ लाख नेता कार्यकर्ता रहेको दाबी गर्ने नेकपाले अहिलेसम्म केन्द्रीय समिति र प्रदेश ७ को मात्रै टुंगो लगाएको छ । तर, गाउँ र नगरदेखि जिल्लासम्मका सबै कार्यकर्ता बेरोजगार भएका छन् । एघार महिनासम्म सत्तारुढ पार्टीका गतिविधि नै प्राय शून्य रहेकोछ । ४ सय ४१ जनाको केन्द्रीय कमिटी छ, तर अहिलेसम्म कुनै बैैठक नै बसेको छैन ।

नेकपाका नेता वेदुराम भुषालले बैठकमात्र नबसेको होइन केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजनसमेत नभएको बताए । उनका अनुसार पोलिटब्युरो सदस्यहरुको टुङ्गो लागेको छैन । अहिलेसम्म नेकपाको केन्द्रीय कमिटी र प्रदेश कमिटी मिलाएर १८ सय ३२ जनाको मात्र कमिटी छ । जब कि ५ लाख नेता कार्यकर्ता रहेको उसले दाबी गरिरहेको छ । यो हिसाबले अहिलेपनि नेकपाका ४ लाख ९८ हजार १ सय ६९ जना नेता तथा कार्यकर्ता कमिटी बिहीन छन् । यतिका नेता कार्यकर्ताहरु कमिटी बिहीन बन्दा पनि किन नेतृत्वले एकतामा चासो राखेनन् भन्ने कुरा सबैतिर चासोको विषय बनेको नेता भुषालले बताए ।

कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरख बोगटीले पार्टी एकता नहुने हो कि भन्ने आशंका बढेको बताए । अहिले प्रदेश कमिटीले नै स्थानीय तहमा कमिटी गठन गर्न थालेपछि केही सकारात्मक सन्देश गएको जनाए । नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले पार्टी एकता लम्बिदा तल्लो तहमा समस्या आएको बताए । थापाले भने ‘पार्टी एकताको काम पूरा नहुँदा तल्ला कमिटीहरु निस्क्रिय भएको छ । पार्टीका सांगठनिक गतिविधिहरु पूरा ठप्प छन् ।’

काम गर्न सकेन भनेर कार्यदल विघटन गरेपनि सचिवालयले पनि केही काम नगरेको भुषालले जानकारी दिए । भुषालले भने, ‘कार्यदलले समयमा काम गरेन भन्ने, तर सचिवालयले अहिलेसम्म केहि पनि काम नगर्नु भनेको बेइज्जतको कुरा हो । छिटो भन्दा छिटो एकताको काम सक्नु पथ्र्यो ।’ थापाले पनि एकता ढिला हँुदा पार्टीको जीवन पद्धति नै लथालिङ भएको बताए । उनले भने ‘कम्युनिष्ट पार्टी हो, यसको बैठक, प्रशिक्षण हुन्छ, नीति, विचारबाट सञ्चालन हुन्छ तर यहाँ यो नभएको करीब करीब एकवर्ष हुन थाल्यो । यसले नेता कार्यकर्तामा निराशा ल्याएको छ ।’ बोगटी भन्छन्, ‘फरक शैली, फरक सांगठनिक ढाँचा, फरक धारका पार्टी एकता हुंदा केही समय त लाग्थ्यो नै तर ढिला भएकाले झन् सांगठनिक, वैचारिक र कार्यशैलीमा समस्या आएको छ ।’

यता, प्रदेश ३ का अध्यक्ष नारायण दाहाल भन्छन् ‘तल तल नेता कार्यकर्तामा निराशा छ , छिटो एकता गर्नुपर्यो भनेर दबाब छ । तर प्रदेशले स्थानीय तहमा र केही जिल्लामा जिल्ला कमिटी बनाउँदा सकारात्मक सन्देश प्रवाह भएको छ ।’ नेकपाका स्थायी कमिटी सदस्य मणि थापा भन्छन् ‘एकता नहुनुको कारण पूर्व एमालेको दुईटा गुटको समस्याको कारण हो । जबसम्म यी दुई गुटबीचको व्यवस्थापन हँुदैन तब सम्म पार्टी एकता हुन समय लाग्नसक्छ ।

तर पनि अब बैशाखसम्म हुन सक्ने संभावना रहन्छ ।’ यदि गुटको व्यवस्थापनको कारण नै एकता नभएको भए यो पार्टी एकता हुन समय लाग्न सक्ने देखिन्छ । पार्टी एकता नहँुदा धेरै नेता कार्यकर्ताहरु कमिटी बिहीन र काम बिहीन बनेका छन् । यति मात्र होइन सरकार र पार्टीबीच पनि सम्बन्ध राम्रो बन्न नसकेको सबै नेताहरु बताउँछन् । तर यति हुँदा पनि पार्टी एकतामा ढिला भएको छ ।

हरेक बैठकमा छिटै एकता हुने भनिन्छ तर हुँदैन । तर यो कुरासँग सहमत छैनन् प्रदेश २ का अध्यक्ष प्रभु साह । साह भन्छन् ‘ढिला भएर कसैलाई खासै समस्या भएको छैन । ठूलो पार्टी यत्तिको हुनु स्वभाविक हो । नेता कार्यकर्ताले सहज ठानेका छन् ।’

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्