नेपाल दक्षिण एसियाको उदाउँदो तारा : सरकार


 


काठमाडौं चैत १७
‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) छ ।

विदेशी लगानीकर्ताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बस र्‍यापिड ट्रान्जिट (बिआरटी) काठमाडौंका लागि लगानीको आवेदन दिएका छन् । त्यस्तै, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि आवेदन परेको छ । सरकारले सूचीकृत नगरेका परियोजनामा समेत लगानीका लागि आवेदन आएको छ । विदेशी लगानीकर्ताले पाँच सय ५० मेगावाटको सोलार र लजिस्टिक ब्लक टर्मिनलमा लगानीका लागि आवेदन दिएका हुन् ।

सरकारले लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजीका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो । तर, शनिबारसम्म १७ परियोजनामा मात्रै लगानीका लागि आवेदन आएको छ । आवेदनको अन्तिम मिति भने २० अप्रिलसम्म छ । ‘बाँकी समयमा थप आवेदन आउनेछ,’ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘अहिल्यै कम आयो भनेर विश्लेषण गर्न नमिल्ला ।’

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्